१८ पुष २०८१, बिहीबार

सुदूरपश्चिम यातायातको १५ औं अधिवेशन शुरु



धनगढी । सुदूरपश्चिम यातायात व्यावसायी संघको ३१ औं साधारण सभा तथा १५ औ अधिवेशन शनिबारदेखि शुरु भएको छ ।
साधारण सभाको एक समारोहबीच राष्ट्रिय यातायात महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनालले उद्घाटन गरे ।
सो अवसरमा उनले यातायात व्यावसायीले देशको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको चर्चा गरे ।
उद्घाटन समारोहमा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सुरक्षित यात्राका लागि यातायात व्यावसायी समितिले अझ बढी संवेदनशील हुन आग्रह गरे ।
सो अवसरमा पूर्व अध्यक्ष हरिप्रसाद पाण्डे, कैलाली बारका अध्यक्ष प्रेम चन्द, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष जगत साउँद, पत्रकार दिलबहादुर छत्याल र हेमन्त पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभामा समितिका महासचिव रविन्द्र खड्काले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै, संसथाका कोषाध्यक्ष गोविन्द शाहले आर्थिक वर्ष २०७३/२०७४ को पाँच करोड चार लाख ७१ हजार तीन सय ६५ रुपैयाको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष टेकराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदम सापकोटाले स्वागत गरेका थिए ।
शनिबारदेखि शुरु भएको अधिवेशनले आज (आईतबार) नयाँ कार्यसमिति चयन गर्ने जनाइएको छ । २०४० सालमा स्थापना भएको सुदूरपश्चिम यातायात व्यावसायी समितिमा अहिले पाँच सय ५० मतदाता रहेका छन् ।

कात्तिक २६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार