५ कार्तिक २०८१, सोमबार

मतदाता नामावली संकलन : दुई सातामा सात हजार बढीले दर्ता गराए



धनगढी । आसन्न प्रादेशिक निर्वाचनलाई दृष्टिगत गरी निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलन शुरु गरेको दुई सातामा कैलालीमा सात हजार बढीले नामावली दर्ता गराएका छन् ।
आयोगले साउन १ गतेदेखि फोटोसतिहको मतदाता नामावली संकलन शुरु गरेको थियो । शनिबारसम्म क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीमा सात हजार ६६ जना नयाँ मतदाताले नामावलीमा नाम दर्ता गराएका छन् ।
क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका शाखा अधिकृत एवं सूचना अधिकारी प्रेमराज भट्टले १४ दिनको अवधिमा तीन हजार आठ सय ४७ पुरुष र तीन हजार दुई सय १९ जना महिलाले मतदाता नामावलीमा नाम दर्ता गराएको जानकारी दिए ।
साउन १ गतेदेखि मतदाता नामावली संकलन कार्य शुरु भएकोमा साउन १२ गते सबैभन्दा बढी सात सय ५४ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए ।
मातदाता नामावलीमा नाम दर्ता गराउनेहरूको भिड बढ्दै गएपछि कार्यालयले साउन महिना भरि नै नाम दर्ता गर्ने व्यवस्था मिलाएको सूचना अधिकारी भट्टले बताए ।
अब मतदाता नामावलीमा नाम दर्ता गर्न कै लागि सदरमुकाम आउने झन्झट पनि हटेको छ । सूचना अधिकारी भट्टले आज (सोमबार) देखि ३२ गतेसम्म कैलालीका ६ गाउँपालिका, ६ नगरपालिका र एक उपमहानगरपालिकाको कार्यालयबाट मतदाता नामावली नाम दर्ता गर्न सकिने बताए ।
स्थानीय तहमै मतदाता नामावली दर्ता गराउनका लागि क्षेत्रीय निर्वाचन कार्यालयले १३ वटै तहमा कर्मचारी खटाइसकेको उनले जानकारी दिए । उनले मतदाता नामावली दर्ता संकलनका लागि १३ वटै तहमा एक दर्ता सहयोगी, एक सहायक दर्ता खटाएको उनले बताए ।
त्यस्तै, क्षेत्रीय निर्वाचन कार्यालयले मतदाता नामावली दर्तासंगै ठाउँसारीको काम पनि गरिरहेको छ । ठाउँसारी गर्नेले फोटो खिच्न पर्दैन । निवेदन दिए मात्र पुग्छ । २०६७ साल यता मतदाता नामावलीमा फोटो खिच्नेहरूले फेरि फोटो खिच्नु पर्दैन । दुई चोटी फोटो खिचेमा मतदाता नामावलीबाट नाम हट्छ । ‘दोहोर्‍याएर फोटो खिच्नेहरूले कारबाहीस्वरूप दुई पटकसम्म भोट हाल्न पाइनेछैन’ क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकारी मोहनप्रसाद अर्यालले भने ‘आयोगको नियम नै यस्तो छ ।’
मताधिकारको प्रयोग गर्ने अवसर नछुटाउनको लागि नागरिकहरू फोटोसहितको मतदाता नामावलीमा नाम संकलन गर्न आतुर छन् । ‘थोरै दिनम धेरै नागरिकहरू फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न आएका छन’ अर्यालले भने– ‘मताधिकारको महत्त्व नागरिकहरुले क्रमश: बुझ्दै गएको अवस्था छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार