१५ बैशाख २०८१, शनिबार

कैलाली उवासंघको आसन्न निर्वाचन : रुपेश स्वाँर नेतृत्वको प्यानल घोषणा



धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि वर्तमान महासचिव रूपेश स्वाँर नेतृत्वको प्यानल घोषणा भएको छ । संघको आगामी २८ गते नया“ कार्यसमितिका लागि निर्वाचन हुँदैछ ।मंगलबार धनगढीमा आयोजित उम्मेदवारी घोषणा सभामा स्वाँर नेतृत्वको प्यानल घोषणा गरियो ।
सो प्यानलमा उपाध्यक्ष (उद्योग) पद्मा गजराज पाण्डेय, उपाध्यक्ष (वाणिज्य) टेकबहादुर खड्का तथा उपाध्यक्ष (वस्तुगत) मा अनिलकुमार भुजनिया उम्मेदवार रहेका छन् ।
त्यस्तै, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा भीमराज ओझा (अब्बु) तथा सचिवमा सुजितराज शर्मा उम्मेदवार रहेका छन् ।
त्यस्तै, सदस्यमा तिलक बोहरा, रूपेश खड्का, रवि कुँवर, भक्त थापा, शिव सोप, श्याम जोशी, दुर्योधन सुवर्णकार, वसन्त भट्ट र सीता भट्टराई उम्मेदवार रहेका छन् ।
प्यानलको घोषणा गर्दै अध्यक्षका उम्मेदवार स्वाँरले कैलाली उद्योग वाणिज्य संघमा लामो समयदेखि अनुभव गरेका परिपक्व तथा नयाँ र उर्जावान व्यवसायीहरूलाई एकवद्ध गरेर समावेशी प्यानल निर्माण गरिएको बताए ।
स्वा“र नेतृत्वको प्यानलले औद्योगिक क्षेत्रको स्थापना, विशेष आर्थिक क्षेत्र घोषणा र सञ्चालन, साना तथा मझौंला व्यावसायीहरूलाई करछुटको व्यवस्था तथा व्यवसायीहरूको भौतिक तथा पेसागत सुरक्षा प्रमुख प्रतिवद्धताका रूपमा प्रस्तुत गरेको छ ।
त्यस्तै, धनगढी, लम्की, भजनी, सुखड, अत्तरिया, जोशीपुर, बौनिया, चौमाला, मसुरिया, पहलमानपुर लगायतका बजारमा सिसिटिभी जडान, गौरीफन्टा सीमानाकाको स्तरन्नोति, धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नती, मोहना–अत्तरिया छ लेन सडकको निर्धारित समयमा निर्माण कार्य पूरा गर्नुपर्ने, हुलाकी राजमार्गको निर्माण कार्य पनि प्रमुख प्रतिवद्धताका रूपमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार