स्रष्टा मिलन तथा रचना वाचन कार्यक्रम
लम्की । अक्षर साहित्य प्रतिष्ठानको आयोजनामा लम्कीमा आइतबार स्रष्टा मिलन तथा रचना वाचन कार्यक्रम भएको छ ।
कार्यक्रमका साहित्यकार कर्णबहादुर थापाले कला साहित्यको विकास बिना अरु विकासले पूर्णता नपाउने चर्चा गरे ।
अक्षर साहित्य प्रतिष्ठानका सल्लाहकार संयोजक रोशन बोहराले कार्यक्रममाथि समीक्षात्मक टिप्पणी गर्दै गीत तथा संगीतबिनाको जीवन अधुरो हुने बताए । संस्थाका सल्लाहकार बुद्धिप्रसाद खनाल, साहित्यकार कैलाश बियोगी, लोकगायिका सीता विक, बिष्ना बिसी लगायतले स्थानीय सरकारले मौलिक लोकसंस्कृति तथा साहित्यको संरक्षणमा ध्यान दिन आग्रह गरे ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष धनराज अविरलको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा ५० जना बढी स्रष्टाहरूले गजल, कविता, मुक्तक, हाइकु लोकगीत, देउडा गीत प्रस्तुत गरेका थिए । स्रष्टा तथा कलाकारहरुले रचनामार्फत बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तले न्याय नपाएको गुनासो गरेका थिए । उनीहरूले जनताले देशमा सरकार भएको महसुस गर्न पाउनुपर्ने तथा न्याय मर्न नदिन आह्वान गरे ।
प्रतिष्ठानका महासचिव मदन प्यासीले सञ्चालन गरको कार्यक्रममा कृष्ण उपाध्यायले स्वागत गरेका थिए ।