१९ पुष २०८१, शुक्रबार

स्वास्थ्य प्रयोगशाला निर्देशिका अनुसार कार्यान्वयन गर्न माग



धनगढी । निजी स्तरमा सञ्चालित स्वास्थ्य प्रयोगशालाहरूलाई तहगत रुपमा राष्ट्रिय स्वास्थ्य प्रयोगशाला सञ्चालन निर्देशिका २०७३ अनुसार कार्यान्वयन गर्नुपर्ने मेडिकल ल्यावोरेटरी एसोसियसन अफ नेपाल (मेलान) ले माग गरेको छ ।
मेलानको ७ नम्बर प्रदेश समितिले बुधबार धनगढीमा सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै निर्देशिका अनुसार कार्यान्वयन गर्न माग गरे ।
मेलानका प्रदेश संयोजक दीपेन्द्रप्रसाद तिवारीले सामाजिक विकास मन्त्री सोडारीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका थिए ।
ध्यानाकर्षण पत्रमा प्रादेशिक स्वास्थ्यका विभिन्न तहमा स्वास्थ्य प्रयोगशाला सेवाको कर्मचारीहरु राख्नु पर्ने, प्रादेशिक स्तर तथा स्थानिय तहमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरुमा पनि आवश्यक्ता अनुसार स्वास्थ्य प्रयोगशाला सेवा विस्तार तथा दरवन्दी संरचना हेरफेर गर्नु पर्ने, सरकारी तथा नीजि स्वास्थ्य प्रयोगशालामा कार्यरत जनशक्तिहरुलाई जोखिम भत्ताको व्यवस्था हुनुपर्ने माग गरिएको छ ।
त्यस्तै, प्रादेशिक तथा स्थानीय स्तरमा भएका विभिन्न स्वास्थ्य प्रयोगशालाहरुलाई नीजि सरकारी साझेदारी प्रक्रिया बाट कार्यान्वयन गराउनुपर्ने, प्रादेशिक तथा स्थानीय स्तरमा हुने अनुगमन तथा गुणस्तर र रिसर्च तथा तालिम शाखामा मेलानको पनि प्रतिनिधित्व गराउनुपर्ने, प्रादेशिक तथा स्थानीय स्तरमा भएका विभिन्न स्वास्थ्य प्रयोगशालाहरुमा जेष्ठताको हिसाबले शाखा तथा फाटको जिम्मेवारी दिनुपर्ने र छुटै आधुनिक स्वास्थ्य प्रयोगशाला भवनको स्थापना गर्नुपर्ने माग गरिएको छ ।
सो पत्र बुझ्दै मन्त्री सोडारीले ल्याब भनेको प्राविधिक विषय भएकाले आफुले विज्ञ टोलीसंग छलफल गरेर ल्याबरोटरीका पक्षमा सकारात्मक ढंगले काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार