२ माघ २०८१, बुधबार

सुदूरपश्चिमाञ्चल क्याम्पसद्वारा एमबीएस सेमेस्टर प्रणाली लागू



धनगढी । धनगढीस्थित सुदूरपश्चिमाञ्चल क्याम्पसले व्यवस्थापन संकायमा स्नातकोत्तर तह (एमविएस) सेमेस्टर प्रणाली शुरु गरेको छ ।
गत सोमबार त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको सो क्याम्पसले एमबीएस सेमस्टर प्रणालीका लागि भर्ना फाराम खोलेको बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
एमविएस सेमेस्टर प्रणाली प्रतिको विद्यार्थीको आकर्षण बढ्दै गएको र समयको माग पनि नयाँ मूल्यांकन प्रणालीमा परिमार्जित भई आएकाले क्याम्पसमा यो कार्यक्रम शुरु गरिएको क्याम्पस प्रमुख पुष्पराज जोशीले जानकारी दिए ।
यस प्रदेशको विकासमा दक्ष जनशक्ति उत्पादन गर्न र शैक्षिक स्तरलाई उकास्न सेमेस्टर प्रणाली प्रभावकारी हुने उनले बताए ।
कार्यक्रमलाई प्रभावकारी बनाउन नियमित शैक्षिक क्रियाकलापका साथै थप कार्यक्रम सञ्चालन गरिने, विद्यार्थी मूल्यांकन प्रणाली चुस्त बनाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, कार्यसम्पादन क्षमताको आधारमा प्रोत्साहन र दण्ड प्रणाली लागू गरिने, ७ नम्बर प्रदेशका सबै जिल्लाको सम्भाव्य क्षेत्रमा स्थलगत अध्ययन, प्रोजेक्ट कार्य दिइने, आवश्यकताअनुसार औद्योगिक क्षेत्रको भ्रमण गराइने छ ।
क्याम्पसले कार्यक्रमलाई प्रभावकारी बनाउन र योग्य, सक्षम विद्यार्थी उत्पादन गर्न विज्ञ र अनुभवी प्राध्यापकको व्यवस्था गर्ने, शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि सेमिनार एवं क्षमता अभिवृद्धि गोष्ठीहरू नियमित समयमा सञ्चालन गर्ने क्याम्पस प्रमुख जोशीले बताए ।
कार्यक्रममा प्रति सेमेष्टर पठनपाठन शुल्क ३० हजार रुपैयाँका साथै स्थलगत अध्ययन, रिपोर्ट लेखन, औद्योगिक भ्रमणको लागत स्वयं विद्यार्थीहरूले बहन गर्नुपर्ने छ । क्याम्पसले शैक्षिक सत्रका लागि परीक्षा सञ्चालन फागुन ५ गते गर्ने छ भने फागुन २५ गतेदेखि कक्षा सञ्चालन गर्ने क्याम्पस प्रमुख जोशीले बताए ।
सो अवसरमा बोल्दै क्याम्पसका अध्यक्ष योगेन्द्रबहादुर शाहीले ७ नम्बर प्रदेश सम्भावना बोकेको क्षेत्र भए पनि सीप अनुसारको शिक्षा लागू नहुँदा दक्ष जनशक्ति उत्पादन गर्न नसकिएको बताए ।
सुदूरपश्चिमाञ्चल क्याम्पस सहित कैलालीमा टीकापुर बहुमुखी क्याम्पस, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस र कैलाली बहुमुखी क्याम्पसले पनि यो कार्यक्रम शुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार