कोसिस परियोजनाको सामाजिक परीक्षण सम्पन्न

धनगढी, मंसिर १२ गते/ कोसिस परियोजनाले यस वर्षको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । हरेक वर्ष झैं यस वर्ष पनि कोसिसले आफ्नो वार्षिक सामाजिक परीक्षण कार्यक्रम गरेको हो ।
कार्यक्रममा धनगढी उपमहानरपालिकाका वडाका वडाअध्यक्षहरू लगायत सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सामाजिक परीक्षण कार्यक्रममा सामाजिक परिरक्षक थानेश्वर कोइरालाले सहजीकरण गरेका थिए ।
चार वर्ष अघिदेखि धनगढी उपमहानगरका सम्पूर्ण वडामा कोसिसले परियोजना सञ्चालन गरेको थियो । परियोजनाले मनोसामाजिक अपांगता भएका व्यक्तिहरूलाई संगठित गरी सचेतना र क्षमता विकासमा पैरवी गर्दै आएको थियो ।
परियोजना लागू भएपछि धनगढी उपमहानगरपालिमा दुई सय बढी मनोसामाजिक अपांगता भएका व्यक्तिहरूको पहिचान भएको कोसिस परियोजना बरिष्ठ परियाेजना अधिकृत बसन्ती शाहीले बताइन् ।
सामाजिक परीक्षण कार्यक्रममा सहभागीहरूले यो परियोजना निकै लाभदायी र फलदायी रहेकोले निरन्तरतामा जोड दिए । धनगढी उपनगरपालिका धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष मानबहादुर बिष्टको अध्यक्षतामा भएको थियो ।




