१० श्रावण २०८१, बिहीबार

“गठबन्धनबारेका असन्तुष्टिहरू स्वाभाविक”




धनगढी / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनबारे असन्तुष्टिका स्वरहरू स्वाभाविक भएको बताएका छन् ।

उनले गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डाबारे गरेको पछिल्लो सहमतिप्रति देखिएका असन्तुष्टिहरू केही दिनभित्रै साम्य हुने दाबी गरे ।

बिहीबार धनगढी विमानस्थलमा पत्रकारहरूसंगको कुराकानीमा अध्यक्ष प्रचण्डले भने– चुनावमा उम्मेदवारको टिकट वितरण गर्दा जुनसुकै पार्टीभित्र पनि असन्तुष्टि देखिने गर्छ । यो त गठबन्धनको कुरा हो ।

उनले गठबन्धनको निर्णयबारेका असन्तुष्टि धेरै चिन्ताजनक नभएको बताए । भने– असन्तुष्ट रहनुभएका साथीहरूले पनि केही दिनमा कुरा बुझ्नुहुन्छ । यो शान्त र साम्य हुन्छ भन्ने आशा लिएको छु ।

चुनावी तालमेलबारे नेपाली काँग्रेसमा देखिएको असन्तुष्टिले चुनावी परिणाममा कुनै फरक नपर्ने प्रचण्डको दाबी छ । काँग्रेसमा देखिएको असन्तुष्टीबारे सञ्चारकर्मीहरूको एक प्रश्नमा उनले भने, यो असन्तुष्टिले चुनावको परिणाममा केही फरक पार्दैन । एक दुई दिनभित्र ती सबै साथीहरू शान्त हुनेछन्। गठबन्धनको केन्द्रले बुद्धिमतापूर्वक निर्णय गरेको सबैले बुझ्नुहुन्छ ।

अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेशका सबै जिल्ला र पालिकामा गठबन्धन दलहरूबीच चुनावी तालमेल हुने विश्वास व्यक्त गरे । गठबन्धनभित्र तालमेलमा अधिकतम जोड गर्ने हामीले हिजो जारी गरेको विज्ञप्तिमा उल्लेख छ । केन्द्रमा जसरी हामीले महानगरपालिका र उपमहानगरपालिकामा तालमेल गरेको छौं, त्यही मर्म र भावनालाई आत्मसात गरेर देशैभरी तालमेल गर्ने भनेका छौं, उनले भने ।

गठबन्धनभित्र समस्या देखिए स्वस्थ प्रतिस्पर्धाको ठाउँ पनि बाँकी राखेको प्रचण्डको भनाइ छ । तर गठबन्धनबीचको प्रतिस्पर्धा भन्दा तालमेलमा नै जोड दिइएको उनले बताए ।

सुदूरपश्चिमले परिवर्तनको पक्षमा अभिमत जाहेर गर्ने प्रचण्डले विश्वास व्यक्त गरे । सुदूरपश्चिममा माओवादी केन्द्रको संगठन राम्रोसँग अगाडि बढेकोमा उनले खुसी प्रकट गरे । माओवादीबाट हिजो विभाजित भएका नेताहरू अहिले पार्टीमा जोडिने गरेको उनले बताए ।
उनले आसन्न स्थानीय निर्वाचनमा अग्रगमन र प्रतिगमनका पक्षहरू ध्रुवीकृत भएको जिकिर गरे । उनले भने, एकतातिर अग्रगमनका पक्षधरहरू एक जुट भएका छन् भने अर्कोतिर प्रतिगमनका समर्थकहरू छन् । हिजो राजा महाराजसँग सम्बन्धित शक्तिहरूदेखि अरू कुनै दलाल शक्तिहरू कहिले आठ दल कहिले नौ दल भनेर जुटेका छन । अग्रगमनका पक्षधरहरू र यो प्रगतिलाई उल्टाउने कोसिस गर्नेहरूबीच ध्रुवीकरण देखिएको छ । त्यसैले यो निर्वाचनलाई परिवर्तन जोगाउने आन्दोलनको अंगकै रूपमा लिनुपर्छ ।

अध्यक्ष प्रचण्डले सुरुदेखि गठबन्धनले चुनाव सार्छ भन्ने कन्फ्युजन पार्न खोजिए पनि त्यो गलत भएको बताए । मैले सुरुदेखि नै निर्वाचन सर्दैन भन्दै आएको थिए । गठबन्धन दृढतापूर्वक निर्वाचनमा गइसकेको छ । अब केही कन्फ्युजन छैन होला । अब यो निर्वाचनलाई निष्पक्ष, स्वच्छ र धाँधलीरहित बनाउनुपर्छ र व्यापक जनसहभागिता सुनिश्चित गर्नुपर्छ ।

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले गभर्नर प्रकरणमा के हुन्छ भन्ने चैत १३ गतेपछि मात्र थाहा हुने बताए । उनले गभर्नर र सरकारको बीचमा समस्या देखिएपछि अर्थमन्त्री र प्रधानमन्त्रीको सल्लाहमा नै सो निर्णय गरिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार