३ जेष्ठ २०८१, बिहीबार

पूर्वी कैलालीमा युरिया मलको चरम अभाव



मल आपूर्ति गर्न किसानको माग

टीकापुर । नेपालबाट मल आपूर्ति हुन नसके अभाव टार्न सिमापारीबाट ल्याउने किसान यस वर्ष लकडाउनका कारण मल नपाएर भौतारिरहेका छन । नेपाली बजारमा मल छैन । समयमा मल नहाले आफ्नो उत्पादन घटने चिन्तामा किसान छन् ।

टीकापुर बनगाउँका किसान लक्ष्मीप्रसाद चौधरी केही दिनदेखि युरिया मलको खोजीमा छन । जहा जहा मल पाइन्छ भनेर सुन्यो त्यतैत्यतै दौडिएका लक्ष्मीले कतै मल पाएनन । मल अभावमा धानको उत्पादन घटे परिवारमा भोकमरीको संकट आउने चिन्ताले मल खोज्न दैनिक कृषि सहकारी, बजार धाएको छ । कैलालीमा कतै नपाएपछि बर्दियाको गुलरियाबाट एक क्वीन्टल मल ल्याएर अलिअलि छर्ने योजना बनाएको लक्ष्मीको भनाई छ । उनी भन्छन, ‘यता सहकारी, बजार कतै मल छैन बर्दियाको गुलरिया गएर दोब्बर मूल्य तिरेर मल ल्याएको छु ।’

टीकापुर सत्तीकी धना तिमिल्सिनाले पनि युरिया मल पाएनन । मलकै लागि धनगढीसम्म बारम्बार सोधपुछ गर्दा पनि मल नपाएपछि दिक्क छिन । अहिले सम्म युरिया पाइने संभावना नदेखिएको र मल नपाए परिवारलाई खानै नपुग्ने तिमिल्सिनाको भनाई छ । तिमिल्सिना भन्छिन, ‘बालीमा हाल्न मल छैनभने उब्जनी कसरी बढ्ने ? किसान मल जसरी पनि चाहिन्छ ।’

धानमा उत्पादन बढाउन रोपेको २१ दिनमा युरिया आवश्यक भएपनि समयमा उपलब्ध नहुदा र बर्दिया र कैलालीका सीमावर्ती बजार धाउनु पर्ने वाध्यता छ । सरकार र त्यसका निकायले समयमै किसानलाई मल उपलब्ध गराउनु पर्छ र नसके अन्य संभावनाहरु किसानका लागि खुला राख्नुपर्ने उपभोक्ताको माग छ ।

धानमा हाल्ने बेला युरिया मल नपाउनु किसानको मात्रै समस्या नभई देशकै उत्पादन घट्दछ । समयमै सहज रुपमा मल उपलब्ध गराउनु स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने स्थानीयको माग छ । स्थानीय तहका प्रमुखहरु विभिन्न निकायसँग समन्वय गरिरहेको बताउछन् । ‘मल अभाव हुदा किसान विगतमा जसरी ल्याउथे त्यसरी पनि ल्याउन सकेका छैनन्’ टीकापुर नगरपालिकालका नगर प्रमुख तपेन्द्रबहादुर रावलले भने, ‘हामीले पनि सरकारलाई भन्ने हो भनिरहेका छौं, प्रमुख जिल्ला अधिकारीेलाई अनुरोध गरिरहेका छौं ।’

मल अभावले किसानलाई समस्या मात्र नभई देशकै उत्पादनमा कमी आउनेछ । कसानको उत्पादन विना विकासको कार्यमा समेत प्रभाव पार्ने भएकोले अहिले किसानको समस्यामा समन्वय भैरहेको जानकी गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरीले बताए । उनले भने, ‘किसानलाई सहजताको लागि अन्य व्यवसायी रुपमा आउने सामान सरह व्यवहारिक रुपमा किसानलाई मल ल्याउन पाउनु पर्छ हामी त्यसैका लागि पहल गरिरहेका छौं ।’

कैलालीमा १५ हजार मेट्रिक टन युरिया आवश्यक भएपनि कृषि सामग्री कम्पनीले ४ हजार टन युरिया मलको माग गरेको छ । तत्काल कहि कतैबाट मल ल्याउने सम्भावना छैन, कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिह बोगटीले भने नेपालली ठेकेदारले चीन, जोर्डन लगायतका देशबाट ल्याउने हो, अहिलेको अवस्थामा मुश्किल छ आयो भने साउनको अन्तिम सातासम्म पुग्न सक्छ ।

कोरोनाका कारण अर्थतन्त्र नै खतरामा परेका बेला देशभित्रको उत्पादनले टेवा पुग्नेछ । धानको अन्नभण्डारमा बाढीले नोक्सानी गरेको छ भने बचेको ठाउमा समयमा मल नपाएर उत्पादन घटने भएको छ । टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घ ठकुल्ला पनि मल नपाउनु किसानको मात्रै समस्या नभई देशकै उत्पादन घटने भएकाले सहजता आउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार