१२ श्रावण २०८१, शनिबार

देशको विकासका लागि प्राविधिक प्रशासकलाई राज्यले विशेष महत्व दिनुपर्छ : महानिर्देशक शर्मा



काठ्माडौ/ सडक विभागका महानिर्देशक केशवकुमार शर्माले देशको विकासका लागि प्राविधिक प्रशासकलाई राज्यले विशेष महत्व दिनुपर्ने बताएका छन् । सोमबार सञ्चार केन्द्र नेपालले आयोजना गरेको OBJECTIVE BOOK FOR CIVIL ENGINEERS नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै महानिर्देशक शर्माले अब विकासको युग सुरु भएकाले प्राविधिक प्रशासकहरुले देश विकासमा लाग्नुको विकल्प नरहेको बताएका छन् ।
कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले प्राविधिकहरुलाई संघर्ष गर्न होइन आफ्नो क्षमता उत्प्रेरित गराउने वातावरण बनाउन राज्य नलागेसम्म विकासले गति लिन नसक्ने बताए । विकासका लागि नेपालका प्राविधिकहरु दक्षताको हिसाबले अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरेपनि सोही अनुसार प्रयोग लिन नसक्नु राज्यको कमजोरी रहेको उनले बताए । देशको विकासका लागि प्राविधिकहरुको महत्वपुर्ण भूमिका रहेको समेत उनले बताए ।
कृषि सडक विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठले पूर्वाधार विकासको निम्ति प्राविधिकहरुको भूमिका महत्वपूर्ण रहेको बताउदै समृद्ध नेपाल निर्माणमा प्राविधिकहरुले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव पार्वती शर्मा काफ्लेले प्रशासन र प्राविधिक तर्फका कुशल प्रशासक उत्पादन गराउन विमोचित पुस्तक अत्यन्त उपयोगी रहेको बताउदै, पुस्तकले प्राविधिक विकासमा समेत विशेष भूमिका खेल्नेमा विश्वस्त रहेको बताइन् ।
यस्तै कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंले नेपालमा कुशल प्रशासक उत्पादन गर्ने उदेश्यले तयार गरिएको नालन्दा फाउन्डेशनको यस पुस्तकले लेखक र पुस्तक प्रकाशन कार्यलाई उर्जा दिने बताए ।
कार्यक्रममा राजधानी दैनिकका सम्पादक सागर पण्डितले नेपालका प्राविधिकहरुलाई नीतिगत रुपमै विशेष महत्व दिएर अगाडि नबढेसम्म सोँचेजस्तो विकास हुन नसक्ने बताए ।
नालन्दा फाउन्डेशनले प्राविधिक क्षेत्रमा दक्ष र कुशल जनशक्ति उत्पादन गराउन मद्दत पुगोस् भन्ने उदेश्यले पुस्तक बजारमा ल्याएको फाउन्डेशनका निर्देशक रामकृष्ण आचार्यले बताए । विमोचन कार्यक्रमको सञ्चालन सविता धिमालले गरेकी थिईन् । इन्जिनियर जनकराज पन्तसहितका लेखकहरुद्वारा लिखित ८ सय पृष्ठको पुस्तक सोमबार सञ्चार केन्द्र नेपालको सभा हलमा विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार