नगरमा चोरीका घटनामा बृद्धि
धनगढी/ धनगढी उपमहानगरपालिका वडा नम्बर २ पुरानो भन्सार टोलमा चोरीका घटनामा निरन्तर बृद्धि भइरहेको छ ।
सो क्षेत्रबाट आइतबार रातीे एक थान सिंचाई मोटर, तीन वटा साना मोटर र नल चोरी भएको छ ।
स्थानीय रोजी कुँवर (साउँद) ले आइतबार राती पुरानो भन्सार रोड कालिका टोलका तुलाराम ओझाको घरबाट सिंचाईं मोटर, मोहन बम, प्रियंका कुँवर र आफ्नो घरबाट नलमा जडान गरिएको मोटर चोरी भएको बताइन् ।
स्थानीय धर्मराज ओझाका अनुसार दुई वर्षको अवधिमा पुरानो भन्साररोड क्षेत्रमा दुई सय बढि पानी तान्ने मोटर, ५० थान विद्युतीय रिक्साका ब्याट्री, पाँच वटा सिंचाई मोटर तथा पाँच वटा ट्रेक्टरका ब्याट्री चोरी भएका छन् ।
स्थानीयले चोरीका घटनाबारे प्रहरीमा लिखित तथा मौखिक जानकारी गराउँदा समेत कुनै चासो नलिइएको गुनासो गरे । ्
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता दक्ष कुमार बस्नेतले प्रहरीले चोरहरूको खोजी कार्य जारी राखेको बताए ।