१० श्रावण २०८१, बिहीबार

सम्पादकीय : मद्यपान तथा धुम्रपान न्युनिकरणको सवाल



पछिल्लो एक अध्ययनले नेपालका अरु प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा धुम्रपान तथा मद्यपान सेवनकर्ताहरूको संख्या अधिक रहेको देखाएको छ । नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको आर्थिक र प्राविधिक सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको नेपालमा नसर्ने रोग सम्बन्धि जोखिम तत्वको सर्भेक्षणले सुदूरपश्चिम प्रदेशको कुल जनसंख्यामध्ये करिब सत्ताइस प्रतिशतले धुम्रपान गर्ने गरेको देखाएको छ । जबकी नेपालमा नेपालमा धुम्रपान गर्नेको संख्या करिब सत्र प्रतिशत मात्रै छ । त्यस्तै, नेपालमा मद्यपान गर्नेको संख्या करिब तेइस प्रतिशत रहेकोमा सुदूरपश्चिम प्रदेशमा आठ प्रतिशत बढि अर्थात् एकतीस प्रतिशत रहेको छ । अझ धुवा सहित वा धुवारहित सुर्तिजन्य पदार्थको सेवनकर्ता पनि सु्दूरपश्चिम प्रदेशमा अधिक रहेको अध्ययनले देखाएको छ । नेपालमा सबै खाले सुर्तिजन्य पदार्थको सेवन गर्ने जनसंख्या अठ्ठाइस प्रतिशत रहेकोमा सुदूरपश्चिम प्रदेशमा यो संख्या पांच प्रतिशतले अधिक रहेको छ । धुम्रपान र मद्यपान मात्रै होइन, सुदूरपश्चिम प्रदेशमा नुनको सेवन पनि अरु प्रदेशको तुलनामा अधिक रहेको देखिएको छ । फलफूल तथा तरकारीको कम सेवन, शारीरिक गतिविधि तथा अभ्यासमा कम ध्यान दिने तथा मद्यपान र धुम्रपान बढि गर्ने लगायतका कारणले सुदूरपश्चिम प्रदेशका बासिन्दामा मुटुको रोगको जोखिम पनि बढ्दै जाने देखिदैछ । यही गतिमा धुम्रपान तथा मद्यपान सेवनकर्ताको संख्या बृद्धि हुदै जाने हो भने केही दशकभित्रै सुदूरपश्चिम प्रदेशले ठूलो समस्या भोग्नु पर्ने अवस्था आउनेमा विमति रहदैन ।
सरकारले विद्यालय, सार्वजनिक निकाय, संस्था, स्वास्थ्य संस्था सहित सार्वजनिक स्थानमा धुम्रपान गर्न निषेध गरेको छ । मदिरा तथा सुर्तीजन्य पदार्थमा चर्को कर लगाउने गरेको छ । सुदूरपश्चिममा लामो समयदेखि मदिरा बन्द आन्दोलन, अभियान हुदै आए । करिब चार दशकअघि सुदूरपश्चिम प्रदेशको अछाममा मदिरा निषेध गरियो । त्यस्तै, प्रदेशका अन्य पहाडी जिल्लाहरुमा समेत केही अवधिसम्म मदिरा बन्द रहेका थिए । कैलाली र कञ्चनपुरमा समेत केही भागमा केही समय मदिरा निषेधको अवस्था थियो । धुम्रपान तथा मद्यपान नियन्त्रण तथा न्युनिकरणका लागि सरकार तथा अन्य पक्षबाट भएगरेका प्रयासहरू किन प्रभावकारी बन्न सकेका छैनन् ? भन्ने सवाल त छदैछ, सुदूरपश्चिम प्रदेशमा मद्यपान र धुम्रपान सेवनमा किन बृद्धि भएको हो भन्ने मुख्य प्रश्न हो । धुम्रपान तथा मद्यपान सेवनमा न्युनिकरणका लागि यसबाट हुने हानीबारे व्यापक रुपमा सन्देश प्रवाह, समाजमा जागरुकता बृद्धि, लगायतका प्रयास जारी त राख्नु नै पर्दछ । यसका साथै मदिरा तथा सूर्तिजन्य पदार्थको बिक्रीलाई सिमित बनाउनेतर्फ प्रदेश सरकार तथा प्रत्येक स्थानीय तहले ठोस योजना र कार्यक्रम लागू गर्नेतर्फ पहल गर्नु आवश्यक भइसकेको छ ।
प्रदेशमा मद्यपान तथा धुम्रपानको विकराल अवस्थालाई मनन् गर्दै प्रदेश तथा स्थानीय सरकारहरुले मदिरा तथा सुर्तीजन्य पदार्थ सेवन गर्नेले कार्ड बनाउनु पर्ने, मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्री गर्ने होटल, पसलको संख्या सिमित गर्दै जाने, निश्चित उमेरभन्दा कमका व्यक्तिलाई मदिरा तथा सुर्तीजन्य पदार्थ सेवन, बिक्री तथा ओसारपसारमा रोक लगाउने लगायतका उपाय कडाईका साथ लागू गर्नेतर्फ ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार