१२ श्रावण २०८१, शनिबार

सम्पादकीय : खप्तडलाई उच्च प्राथमिकता देऊ



सुदूरपश्चिम प्रदेशको सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य खप्तड सधैं चर्चाको विषय बने पनि अझैं पनि नाम अनुसार न त पर्यटकको आगमनमा बृद्धि भएको छ, न यसले स्थानीय वा प्रदेशको आर्थिक समृद्धिमा खासै योगदान पु¥याउन सकेको छैन । खप्तड प्रकृतिले दिएको अनुपम उपहार हो । उच्चपहाडी, हिमाली क्षेत्रमा दर्जनौ फराकिला पाटन (घासेमैदान) का साथै जैविक तथा बनस्पति विविधता एवं धार्मिक स्थलको अनुपम संगमका रुपमा रहेको खप्तडलाई सरकारले राष्ट्रिय निकुञ्जका रुपमा संरक्षण गरिरहेको छ । नेपाल पर्यटन वर्ष अथवा नेपाल भ्रमण वर्षको चर्चा हुदा सुदूरपश्चिम प्रदेशको खप्तडको चर्चा स्वाभाविक हुन्छ । हिउद र वर्षायाम बाहेक अरु जुनसुकै वेला पनि खप्तड भ्रमण सबैका लागि लोभलाग्दो हुन्छ । तर, अहिलेसम्म न त खप्तड यात्राका लागि सुगम सडकको व्यवस्था हुनसकेको छ, न त्यहा पुग्ने पर्यटकका लागि खानेबस्ने उचित प्रबन्ध नै हुनुसकेको छ । फलतः अहिले पनि खप्तड सुदूरपश्चिम प्रदेशका लागि “लंकामा सुन छ, कान बुट्टै” झैं बनेको छ ।
नेपाल भ्रमण वर्ष आउन अढाई महिना भन्दा पनि कम छ । नेपाल भ्रमण वर्षमा सुदूरपश्चिम प्रदेशको पर्यटन क्षेत्रको विकासमा कस्तो योगदान पुग्छ अथवा पु¥याउन सकिन्छ भन्नेबारे धेरै पटक चर्चा बहस भएका छन् । सरकारले पर्यटन प्रवद्र्धन समिति गठन गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले खप्तड क्षेत्रको विकासका लागि कार्यक्रम घोषणा गरेको छ । तर, अहिले पनि सवाल खप्तडमा कसरी बढिभन्दा बढी आन्तरिक र बाह्य पर्यटक पु¥याउने र बढीभन्दा बढी दिन त्यही रोक्ने भन्ने नै हो । त्यसका लागि खप्तडसम्मको यात्रा सुगम र सुरक्षित बनाउन स्तरीय सडक, पैदल मार्ग, खप्तडमा बास र खानाका लागि स्तरीय होटल लजको व्यवस्था, सुरक्षा तथा औषधोपचारकाको प्रबन्ध, टुरिष्ट गाइड आदिको उचित व्यवस्थापन हुनु अनिवार्य हुन्छ । बिडम्बना अहिलेसम्म यी संरचना तथा व्यवस्थाका लागि ठोस पहल हुनसकेको छैन । यसले गर्दा खप्तड यात्राका लागि चाहेर पनि पर्यटकहरू आउन सकिरहेका छैनन् । त्यस्तै, एक पटक जसोतसो गरेर त्यहा पुग्ने पर्यटक पनि खानेबस्ने असुविधाका साथै कठिन र जोखिमपूर्ण यात्राका कारण अर्को पटक भ्रमण गर्ने आ“ट हत्तपत्त गर्न सकिरहेका देखिन्नन् ।
खप्तड सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य हो भन्नेमा विमति छैन र हुनु पनि हुदैन । सुदूरपश्चिममा पर्यटनका अन्य गन्तव्य र सम्भावना पनि छन्, तर खप्तडको तुलना अरुसंग हुनसक्दैन भन्ने स्वीकार गर्नु उचित हुनेछ । त्यसैले खप्तडमा कसरी आन्तरिक तथा बाह्य पर्यटकको आमगन र बसाई बढाउने भन्नेमा ध्यान दिन अब ढिलाई गरिनु हुदैन । खासगरी खप्तडमा होटल, लज लगायत पर्यटनसंग सम्बन्धित भौतिक संरचना निर्माण तथा विकासका लागि निजी क्षेत्रलाई भित्राउन उचित वातावरणको निर्माण गर्नेतर्फ कम्तिमा प्रदेश सरकारले पहल गर्नु आवश्यक हुन्छ । पर्यटन विकास कार्यक्रमका नाममा टोल टोलमा सानातिना मठमन्दिर निर्माण अथवा प्रवेशद्वार निर्माण वा गोष्ठी समारोहमा खर्च गर्ने प्रवृत्ति त्यागेर खप्तड जस्ता अति सम्भावना भएका गन्तव्यमा पर्यटन बजेट र कार्यक्रम केन्द्रीत गर्नु उपलब्धीमुलक हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार