११ श्रावण २०८१, शुक्रबार

सुदूरपश्चिमको विकासका लागि पर्याप्त ध्यान दिइएन– अध्यक्ष प्रचण्ड



धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशको विकासमा पर्याप्त ध्यान दिन नसकिएको बताएका छन् । अध्यक्ष प्रचण्डले विकासका दृष्टिले सधैं पछाडी पारिएको सुदूरपश्चिम प्रदेशको द्रुत विकासका लागि उल्लेख्य मात्रामा ठूला परियोजना पर्न नसकेको र निर्णय भएका ठूला परियोजना पनि त्यत्तिकै सेलाउन थालेको चर्चा गरे ।


नेकपा प्रदेश कमिटीले शुक्रबार धनगढीमा आयोजना गरेको “स्थानीय तहका पदाधिकारीहरूका लागि विशेष प्रशिक्षण” मा उनले पञ्चेश्वर, माथिल्लो कर्णाली र पश्चिम सेती जलविद्युत आयोजना, गड्डाचौकी सुख्खा बन्दरगाह निर्माण प्रक्रियाले गति लिन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले भने– यी आयोजना कार्यान्वयनका लागि हाम्रो पार्टीले सरकारलाई निरन्तर दबाव दिइरहेको छ । सुदूरपश्चिम प्रदेशको विकासको नेतृत्व नेकपाले गर्ने छ ।
कार्यक्रममा सहभागीहरूले भरखरै चिनिया राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणमा दुई देशबीच भएका सहमति, सम्झौतामा सुदूरपश्चिम प्रदेशमा कुनै पनि योजना नपरेको भन्दै गुनासो गरे । प्रतिउत्तरमा अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशको हिल्सा–सुर्खेत सडक विस्तार योजनाको लाभ सुदूरपश्चिमले पनि पाउने दाबी गरे ।
अध्यक्ष प्रचण्डले जनताले नेकपालाई गरेको विश्वास र भरोसा गुम्न नदिन स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरे । उनले जनप्रतिनिधिहरूलाई निर्वाचनताका जनतासामु गरिएका वाचा पूरा गर्न सजग हुन पनि आग्रह गरे । उनले भने– निर्वाचित जनप्रतिनिधिहरू नै सुविधाभोगी भएमा जनमत हाम्रो पक्षमा रहने छैन । समृद्ध राष्ट्रको अभियान नै कमजोर हुने छ ।
अध्यक्ष प्रचण्डले सुदूरपश्चिम र कर्णाली प्रदेशको विकासलाई परिवर्तनको पारामिटर मानिने बताए ।
उनले पार्टी एकताको प्रक्रिया शुरु हुँदाको जनता र कार्यकर्तामा देखिएको उत्साह निरन्तर कायम गर्ने जिम्मेवारी जनप्रतिनिधि तथा पार्टीका पदाधिकारीहरूको रहेको बताए । उनले भने– पार्टी एकताको डेढ वर्षपछि आएर अहिले उत्साहमा केही कमी आएको महशुस भइरहेको छ । जनतालाई विश्वास दिलाउन हामीले के ग¥यौं भन्ने कुराको पनि समिक्षा गर्न जरुरी भइसकेको छ । उनले ‘कही न कही हामीले पनि त्रुटी गरेको’ चर्चा गरे । भने– जनअपेक्षा र जनतामाझ गरेको प्रतिबद्धता अनुसारको काम नगरेको टिप्पणी र जनगुनासो सुन्नु परेको छ । विकास निर्माणले जति तिब्र गति लिनुपर्ने हो त्यो नभएको गुनासो सुनिरहेका छौं ।
कार्यक्रममा नेकपाका स्थायी कमिटि सदस्य तथा सुदूरपश्चिम इञ्चार्ज भीमबहादुर रावलले जनताले दिएको जिम्मेवारी पूरा गर्न र भ्रष्टाचारबाट जोगिन जनाप्रतिधिहरूलाई सचेत रहन आग्रह गरे ।
नेता रावलले पार्टीको चुनावी घोषणापत्र अनुसार काम गरे अझै पनि सुदूरपश्चिममा नेकपाले बहुमत ल्याउने दाबी गरे उनले संविधानमा भएको व्यवस्था अनुसार सरकारले काम नगरेको आरोप लगाए ।


उनले सुदूरपश्चिम प्रदेशमा विकास नभएको र सरकारले गर्ने नियुक्तिमा समेत स्थान नदिएको बताए । उनले पश्चिम सेती जलविद्युत आयोजना कम्पनीले निर्माण गर्ने जिम्मा दिएको बेला नेपाल सरकारका अर्थमन्त्रीले संसद्बाटै सरकारले निर्माण गर्ने घोषणा गरेको भए पनि बजेट विनियोजन नगरेकोमा आपत्ति जनाए ।
नेता रावलले ११ वर्षसम्म माथिल्लो कर्णाली ओगटने जीएमआरको अब म्याद नथप्न सरकारलाई आग्रह गरे । उनले माथिल्लो कर्णाली सरकारले बनाएमा त्यसका लागि सुदूरपश्चिम र कर्णालीका जनताले नै आयोजनालाई पुग्नेभन्दा बढी पैसा जुटाई दिने बताए ।
नेकपाका स्थायी समिति सदस्य लेखराज भट्टले आफ्ना सोचहरू भत्काई रुपान्तरण भएर एकतावद्ध पार्टीबाट विकास गर्नुपर्ने बताए । उनले सरकारले पश्चिम सेती र पञ्चेश्वर परियोजना अगाडि बढाउनलाई पहल गर्न आग्रह गरे ।
नेकपा प्रदेश अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रदेश सचिव नेपबहादुर चौधरीले गरेका थिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट नेतृत्व गर्ने स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्यहरू, संघीय संसदका सांसदहरू, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, स्थानीय तहका प्रमुख, उपप्रमुख र पार्टी अध्यक्षहरू सहभागी छन् ।
प्रशिक्षण कार्यक्रम तीन दिनसम्म चल्ने जनाइएको छ । जनप्रतिनिधिहरूलाई डाक्टर चन्द्रमणी अधिकारी, गोविन्द बन्दी, पार्टीका उच्च तहका नेताहरू लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले जनाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार