११ श्रावण २०८१, शुक्रबार

सम्पादकीय : पश्चिम सेती कहिले बन्ला ?



अढाई दशकदेखि निर्माणको चर्चामा सिमित पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजनाको एक पटक फेरि चर्चा चलेको छ । साढे सात सय मेगावाट विद्युत उत्पादन क्षमताको पश्चिम सेती जलविद्युत आयोजनालाई सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिको एक बलियो आधारका रुपमा प्रस्तुत गरिए पनि अहिलेसम्म निर्माण हुने, नहुनेमा अन्योल कायमै छ । यो जलविद्युत परियोजना निर्माणका लागि विभिन्न मुलुकका थुपै्र उर्जा उत्पादक कम्पनीले चासो देखाउनुका साथै नेपाल सरकारसंग सम्झौता, सहमति गरे पनि अहिलेसम्म यो योजना चर्चामा नै सिमित रहेको अवस्था छ । पछिल्लो पटक चिनिया“ कम्पनी थ्री–गर्जेजले यो आयोजनाबाट हात झिकेपछि सेलाएको चर्चा गत चैतदेखि फेरि शुरु भएको छ । खासगरी गत वर्ष चैतमा काठमाडौंमा भएको लगानी सम्मेलनका क्रममा पश्चिम सेती र सेती रिभर–६ आयोजना एकसाथ अगाडि बढाउन लगानी प्रस्ताव आह्वान गरिएपछि फेरि एक पटक पश्चिम सेतीप्रतिको चर्चा बृद्धि भएको देखिन्छ । यसअघि लामो समयसम्म परियोजना “होल्ड” गरेको स्मेक एकाएक पलायन भएको थियो ।
पश्चिम सेती जलविद्युत आयोजनाको चर्चा शुरु भएदेखि नै यसको पक्ष र विपक्षीमा व्यापक धारणा, प्रतिक्रिया आउन थालेका थिए । जलमाफियादेखि निहित स्वार्थ बोकेका व्यक्ति तथा संघसंस्थाका साथै राजनीतिक नेतृत्वदेखि उपल्लो तहका नीतिनिर्माता लगायतको गोटी झैं बनेको पश्चिम सेती अढाई दशकदेखि बन्ने र नबन्नेबीच पिसिरहदा बझाङ, बैतडी, डडेल्धुरा र डोटीका आयोजनाका प्रमुख प्रभावित क्षेत्रमा विकास निर्माण कार्य समेत ठप्प भएको बिडम्बनापूर्ण स्थिति छ । सुदूरपश्चिम प्रदेशबाट राजनीतिक नेतृत्वमा पुगेकाहरूदेखि मन्त्री, सांसद, निजी क्षेत्र आदि सबैले पश्चिम सेती निर्माणका लागि चासो देखाउने गरेका छन् । सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिको एक प्रमुख आधारका रुपमा बारम्बार प्रस्तुत गरिएको र अझ निजी क्षेत्रबाट आयोजना गरिने मेलामहोत्सवमा यसलाई प्रमुख मागका रुपमा राखिए पनि अझैं पनि यो आयोजना बन्छ भन्ने बलियो आधार देखापर्न सकेको छैन । अढाई दशकदेखि चर्चामा नै सिमित रहेको यो आयोजनालाई साच्चै नै साकार पार्ने हो भने अबका दिनमा प्रदेश तथा संघीय सरकारले समन्वयात्मक ढंगले दृढतापूर्वक काम गर्नु आवश्यक हुन्छ ।
त्यसै पनि नेपालमा ठूला जलविद्युत आयोजना निर्माणको पहल हुदा चर्को राजनीतिक बहस हुने गर्दछ । जलस्रोतको उपयोगको सवाल “राष्ट्रियता” मा अल्झिने गर्दछ । अरुण तेस्रोदेखि अपर कर्णाली अथवा पश्चिम सेतीको कुरा अघि बढ्दा राजनीतिक बृत्तमा अनेकथरी शंकाउपशंका व्यक्त हुने गर्दछ । फलतः कतिपय आयोजना शुरु हुनु अघि नै अवसान हुने गरेको तितो यथार्थ छ । गत चैतमा भएको लगानी सम्मेलनपछि पश्चिम सेती आयोजनाको फेरि चर्चा हुन थालेको सन्दर्भमा अब सरकारले यसलाई दृढतापूर्वक अघि बढाउने अपेक्षा गर्न सकिन्छ । पश्चिम सेतीका पक्ष र विपक्षमा व्यक्त हुने प्रतिक्रिया तथा खेललाई ध्यानमा राखेर सरकारले सतर्कतापूर्वक यो आयोजना सञ्चालन गर्ने भरपर्दो वातावरण बनाउनु जरुरी छ । खासगरेर प्रदेश सरकारले यो आयोजनाबारे अहिलेसम्म फैलाइएका नकारात्मक धारणाहरूलाई चिर्दै यो आयोजनालाई प्रदेश तथा राष्ट्रको हितसहितको समृद्धिका पक्षमा अघि बढाउन समन्वयकारी भूमिका निर्वाह गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार