२२ बैशाख २०८१, शनिबार

गर्भपतन गराउनेको संख्यामा निरन्तर बृद्धि



शेरबहादुर ऐर/धनगढी । कैलालीमा गर्भपतन गराउनेहरूको संख्यामा निरन्तर बृद्धि भइरहेको छ । स्वास्थ्य कार्यालय कैलालीको तथ्यांक अनुसार पछिल्लो तीन वर्षको अवधिमा १२ हजार बढी महिलाले गर्भपतन गराएका छन् ।


स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष ०७३÷७४ देखि आर्थिक वर्ष २०७५÷०७६ सम्मको अवधिमा औषधी खाएर तथा सल्यक्रियामार्फत ११ हजार नौ सय ७१ महिलाले गर्भपतन गराएका छन् ।
गर्भपतन गराउने महिलामामध्ये २० वर्ष उमेरमुनिका किशोरीको संख्या उल्लेख्य रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । कार्यालयको तथ्यांकअनुसार यो अवधिमा गर्भपतन गराएकामध्ये २० वर्षमुनिका किशोरीको संख्या एक हजार एक सय ८४ (नौ दशमलव ८९ प्रतिशत) रहेको छ ।
स्वास्थ्य कार्यालया अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा दुई हजार आठ सय ९२ महिलाले गर्भपतन गराएकोमा २० वर्ष मुनिका किशोरीको संख्या दुई सय ४१ (आठ दशमलव तीन प्रतिशत) रहेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७४÷०७५ मा चार हजार चार सय ८३ गर्भवती महिलाले गर्भपतन गराएकोमा चार सय ७६ जना (१० दशमलव ६१ प्रतिशत) २० वर्ष मुनिका किशोरी रहेका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७३÷०७४ मा चार हजार पा“च सय ९६ जना गर्भवती महिलाले गर्भपतन गराएकोमा २० वर्षमुनिका किशोरीको संख्या चार सय ६७ जना (१० दशमलव १६ प्रतिशत) रहेको थियो ।
सरकारबाट स्वीकृति लिएर सुरक्षित गर्भपतन गराउने संस्थाहरूले औषधि खुवाएर र शल्यक्रियामार्फत गर्भपतन गराउने गरेका छन् ।
कैलालीमा गर्भवती महिलाले औषधी खाएरभन्दा बढी सल्यक्रिया मार्फत गर्भपतन गराउने गरेको तथ्यांकले देखाएको छ ।
स्वास्थ्य कार्यालय, कैलालीका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा एक हजार चार सय ८४, आर्थिक वर्ष ०७४÷७५ मा दुई हजार सात सय ४९ र आर्थिक वर्ष ०७३÷७४ मा दुई हजार नौ सय ६१ गर्भवती महिलाले सल्यक्रियामार्फत गर्भपतन गराएका थिए ।
गर्भपतन गराउने किशोरी गर्भवतीले पनि औषधी भन्दा बढी शल्यक्रिया रुचाउने गरेको तथ्यांकले देखाएको छ । कैलालीमा गत आर्थिक वर्ष २०७५÷७६ मा २० वर्ष मुनिका एक सय ११ गर्भवतीले सल्यक्रियाबाट गर्भपतन गराएका थिए ।
त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा दुई सय ८८ र आर्थिक वर्ष ०७३÷७४ मा तीन सय ४१ जना किशोरीले शल्यक्रियामार्फत गर्भपतन गराएको कैलाली स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।
नेपालमा सरकारले गर्भपतनलाई कानूनी मान्यता दिएपछि गर्भपतन गराउने संख्यामा बृद्धि आइरहेको छ । गर्भपतनले कानुनी मान्यता पाउनुअघि नेपालमा असुरक्षित तथा लुकिछिपी अनिच्छित गर्भपतन हुने गरेको थियो । असुरक्षित गर्भपतनका कारण धेरै गर्भवति महिलाले जोखिम बेहोर्नु परिराखेको थियो ।
कृपा २०१४ को तथ्यांक अनुसार नेपालमा वार्षिक एक लाख ८६ हजार एक सय ४४ जना गर्भवतिले असुरक्षित रुपमा गर्भपतन गराइरहेका थिए । नेपालमा कुल मातृ मृत्यु दरमध्ये सात प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणले हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १९ प्रतिशत महिलाहरूमा अनिच्छित गर्भ हुने गरेको छ । नेपालमा सन् २०१५–२०१६ मा अनुमानित एक लाख ६० हजार पाच सय ६६ प्याकेट गर्भपतनसम्बन्धी औषधि खपत भएको देखिन्छ । त्यसमध्ये सात प्रतिशत गर्भपतनका औषधि नेपालमा दर्ता नभएका औषधि रहने गरेका छन् ।

जथाभावी बेचविखनमा नियन्त्रण जरुरी– स्वास्थ्यकर्मी

सरकारले असुरक्षित गर्भपतनलाई सून्यमा झार्ने लक्ष्य लिएको छ । तर, जथाभावी खोलिएका क्लिनिक तथा औषधी पसलले यसलाई चुनौती दिइरहेको स्वास्थ्यकर्मीहरूको गुनासो छ ।
नेपाल परिवार नियोजन संघ, पिएसआई, गेरुवा ग्रामीण जागरण मञ्च लगायतका संघसंस्थाको सहकार्य र सुरक्षित गर्भपतन सेवा तथा स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा पा“चौ सुरक्षित गर्भपतन दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा स्वास्थ्यकर्मीहरूले जथाभावी औषधी बेचविखन रोक्न सुझाव दिए ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले आक्कलझुक्कल गर्भ बसेमा महिलालाई सुरक्षित बनाउन गर्भपतन सेवा ल्याइएको बताए । उनले भने– तर, अहिले समाजमा यो फेसन जस्तै बनेको छ । चिकित्सकको राय, सल्लाहसुझाव बिना नै जथाभावी रुपमा औषधी किनेर सेवन गर्ने प्रवृति बढेको छ । उनले स्थानीय तहबाटै असुरक्षित गर्भपतनलाई सून्यमा झार्न पहल गनर्सपर्ने बताए ।
स्वास्थ्यकर्मी यशोदा ढकालले ‘जसले र जहा“ पनि अहिले गपतनका औषधीहरू विक्री गरिरहे र चिकित्सकको सल्लाह बिना औषधी सेवन गर्दा महिलाको स्वास्थ्यमा थप जोखिम बढ्ने’ बताइन् ।
धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा संयोजक खगेन्द्र बमले किशोर किशोरीमा गर्भपतनको असर, सुरक्षित हुने तरिका लगायतका बारेमा जनचेतना फैलाउन आवश्यक रहेको बताए । ‘अब विद्यालय तहमै यसबारे शिक्षा फैलाउनुपर्छ’ उनले भने ।
कैलाली स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले असुरक्षित गर्भपतन ५८ प्रतिशत, अपर्याप्त सुरक्षित गर्भपतन सेवा केन्द्रहरू, दर्ता नभएका औषधीको प्रयोग सात प्रतिशत, गर्भपतन सेवालाई परिवार योजना सेवाको रुपमा लिइएको, जनचेतनाको कमि, प्रभावकारी नियमन भूमिकाको अभाव लगायतका समस्या तथा चुनौति रहेको बताए ।
उनले कलिलो उमेरमा शारीरिक सम्बन्ध राख्ने तथा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न झन्झन्ट मान्ने कारण पनि गर्भपतनको संख्यामा उल्लेख्य बृद्धि आएको बताए ।
कैलालीमा सात वटा स्वास्थ्य चौकी, चार वटा प्राथमिक स्वास्थ्य केन्द्र, दुई वटा जिल्ला अस्पताल, सेती प्रादेशिक अस्पताल, नवजीवन, पदमा, सेवा नर्सिङ होम, पिडी पोलिक्लिनिक, लालरत्न अस्पताल र घोडाघोडी अस्पताल, मेरिस्टोप तथा परिवार नियोजन संघले निजी क्षेत्रबाट गर्भपतन गराउने स्वीकृति पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार