११ श्रावण २०८१, शुक्रबार

सम्पादकीयः बृक्षारोपणको मौसम



हरेक वर्ष वर्षायाममा र खासगरी साउन महिनामा बृक्षारोपणको शृंखला चल्ने गरेको छ । विभिन्न व्यक्तित्वहरूको स्मृति, जन्म दिवसका साथै संघसंस्थाका स्थापना दिवस तथा विशेष दिनको अवसरमा बृक्षारोपण कार्यक्रम हुने गरेका छन् । त्यस्तै, विभिन्न सामुदायिक बनहरुले पनि वार्षिक कार्यक्रम बनाएर बृक्षारोपण गर्दै आएका छन् । धनगढी उपमहानगरपालिका सहित कैलालीका प्रायः सबै स्थानीय तहले पनि बृक्षारोपणलाई कार्यक्रममै समावेश गरेका छन् । केही वर्ष अघि “ग्रीन क्लिन धनगढी” अभियान सञ्चालन गरिएको थियो । नगरका केही मुख्य सडकका किनारामा तारबारसहित विरुवा रोपिएका थिए । तर, अहिले त्यहा एउटै पनि विरुवा रहेको पाइदैन । बृक्षारोपण सबैभन्दा सजिलो कार्यक्रमका रुपमा रहेको अवस्था छ । तर, रोपिएका विरुवाको संरक्षण तथा हुर्काउनेतर्फ कमै ध्यान गएको देखिन्छ । सामुदायिक बनमा अथवा विशेष कार्यक्रम सहित गरिएका बृक्षारोपण छोडेर बा“की बृक्षारोपण विरुवा रोप्ने दिनको तामझाम तथा सस्तो प्रचारप्रसारमै सिमित हुने गरेको देखिन्छ ।
बृक्षारोपण कार्यक्रममा विरुवा रोप्ने कामका साथै यिनको संरक्षणलाई पनि संगसंगै अघि बढाउनु आवश्यक हुन्छ । धनगढी उपमहानगरपालिकाले गत दुई वर्षदेखि घरघरमा कम्तिमा दुई रुख लगाउने अभियान सञ्चालन गरेको छ । गत वर्ष हरेक वडामा एक घरलाई कम्तिमा दुई बोट लगाउने गरी विरुवा वितरण गरेकोमा यस वर्ष अनुदानमा फलफूलका विरुवा वितरण गरेको छ । कुनै पनि नाममा विरुवा रोप्ने कार्य निकै सराहनीय हो भन्नेमा विमति रहदैन । तर, यसरी रोपिएका रुखविरुवाको संरक्षणमा पनि ध्यान दिनु पर्दछ । खासगरी स्थानीय तहहरुले आफ्नो सरहदभित्र विरुवा रोप्नका लागि ठोस मापदण्ड बनाउनु पनि आवश्यक देखिन्छ । सडक किनारा, सार्वजनिक स्थल, घरआंगन, सामुदायिक, धार्मिक तथा अन्य बनमा कस्तो जातका विरुवा रोप्ने भन्ने ठोस मापदण्ड बनाउनु पर्दछ । अहिलेसम्म विना योजना बृक्षारोपणका नाममा कुनै पनि जातका विरुवा रोप्ने गरिएको अवस्था छ । यसले गर्दा बृक्षारोपणको शृंखला निरन्तर अघि बढिरहे पनि प्रतिफल भने उत्साहबर्धक देखिन सकेको छैन ।
सजिलो कार्यक्रम अथवा कार्यक्रम गरेको देखाउनका लागि मात्रै नभएर बृक्षारोपणलाईै उपलब्धीमुलक बनाउन स्थान विशेष अनुसारका विरुवा रोप्ने तथा तिनको संरक्षणका लागि ठोस योजना बनाएर लागू गरिनु पर्दछ । शहरी क्षेत्रका सडकहरूमा होचो जातका मसला अथवा धेरै नफैलिने खालका रुख रोप्ने, धार्मिक तथा निजी बन र व्यक्तिगत घरमा फलफूलका विरुवा, सामुदायिक बन तथा राष्ट्रिय बनमा बढी मुल्य पर्ने ठूला जातका रुख लगाउने तर्फ ध्यान दिनु पर्दछ । त्यस्तै, शहरी क्षेत्रका अपेक्षाकृत साघुरा सडकमा किनारामा रहेका जग्गा वा घरधनीसंगको समन्वयमा होचो जातका मसला वा फलफूल अथवा फूलका विरुवा रोपिनु उचित हुनसक्छ । त्यसैले प्रत्येक स्थानीय तहले आफ्नो भूगोल र वस्तुस्थिति अनुसार बृक्षारोपणको दीर्घकालीन योजना बनाएर लागू गर्नु उपयुक्त हुन्छ । अहिलेसम्म क्षणिक प्रचारप्रसार तथा सस्तो नाराका लागि बृक्षारोपण कार्यक्रम हुने गरेको सन्दर्भमा यसको समुचित समिक्षा गर्दै भविष्यका लागि उपलब्धीमुलक र प्रभावकारी योजना बनाउनेतर्फ ध्यान दिनु जरुरी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार