४ जेष्ठ २०८१, शुक्रबार

सरकारी अस्पतालप्रति जनविश्वासको सवाल



सेती अञ्चल अस्पतालको प्रसुति गृहमा केही दिनदेखि सेवा लिनका लागि सेवाग्राहीको आगमन पातलिएको देखिएपछि एक पटक फेरि सरकारी अस्पतालप्रतिको जनविश्वासबारेको सवाल उठेको छ । सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठूलो र सुविधासम्पन्न अस्पतालका रुपमा चिनिएको सेती अञ्चल अस्पतालमा चार केही दिनअघि बच्चा जन्माइसकेपछि एक जना सुत्केरीको मृत्यु भएपछि प्रसुति गृहको सेवा नै प्रभावित भएको अवस्था छ । सुत्केरीको मृत्युपछि उनका आफन्तले गत शुक्रबार दिनभरी नै आन्दोलन गरे र अन्त्यमा उपमहानगरपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, अस्पताल प्रशासन र मृतकका आफन्तबीच सहमति भएको थियो । सहमतिको प्रमुख कुरा भनेको ती सुत्केरी मृत्यु भएको घटनाको विज्ञबाट छानबिन गर्ने नै हो । त्यो छानबिन टोलीले काम गरिसकेको छ । त्यसले दिने प्रतिवेदनले घटनालाई कसरी प्रस्तुत गर्छ प्रतिक्षाको विषय छ, तर मुख्य सवाल भनेको सरकारी अस्पतालप्रति पटकपटक आम नागरिक वा सेवाग्राहीले किन विश्वास गर्दैनन् भन्ने नै हो । राज्यको लगानीमा सञ्चालन गरिएका तथा अति विपन्न वर्ग, समुदायलाई समेत राम्रो स्वास्थ्योपचार सेवा दिनुपर्ने सरकारी अस्पतालको सेवाप्रति पटकपटक सेवाग्राहीबाट अविश्वास व्यक्त गर्नुपर्ने अवस्था सिर्जना हुनु नै बिडम्बना हो ।
विश्वका विकशित तथा लोकतान्त्रिक मानिएका मुलुकमा राज्यको स्वामित्वमा रहेका अथवा सरकारी÷सार्वजनिक अस्पताल, विद्यालय, सञ्चार अथवा यातायात सेवाप्रति सेवाग्राहीको सबैभन्दा बढी विश्वास हुने गर्दछ । नेपालमा यसको उल्टो सरकारी अस्पताल वा स्वास्थ्य संस्था, विद्यालय, कलेज, सञ्चार वा यातायात सेवाप्रति आम सेवाग्राहीले सबैभन्दा कम विश्वास गरिरहेको बिडम्बनापूर्ण अवस्था छ । राज्यको ठूलो लगानीमा तथा व्यवस्थापनमा सञ्चालन भएका सरकारी अस्पतालहरुले दिन सेवाभन्दा सानो लगानीका निजी क्षेत्रका साना अस्पतालको सेवा बढी राम्रो र प्रभावकारी छ भन्ने आम सेवाग्राहीले ठान्नु भनेकै अर्को बिडम्बना मान्नु पर्दछ ।
सेती अञ्चल अस्पताल अथवा अन्य सरकारी अस्पताल वा स्वास्थ्य संस्थाले प्रवाह गरेको सेवाप्रति असन्तुष्टि व्यक्त गरेको यो पहिलो पटक होइन । न त चिकित्सक वा स्वास्थ्यकर्मीको लापरबाहीका कारण दुःखदायी परिणाम निस्केको आरोप लागेको नै यो पहिलो पटक हो । यो मुलत सरकारी अस्पतालको व्यवस्थापनको प्रभावकारीतासंग जोडिएको सवाल हो । अस्पतालका अधिकारी वा स्वास्थ्यकर्मीहरुको समर्पित सेवाको सवाल हो । लगानी, उपकरण, विज्ञताका दृष्टिले सरकारी अस्पतालहरुसंग निजी लगानीका अस्पतालहरुको तुलना हुदैन, हुनसक्दैन । तर, व्यवहारमा अहिले पनि सामान्य आर्थिक अवस्थाका सेवाग्राही पनि बिरामी पर्दा स्वास्थ्य उपचारका लागि सबैभन्दा पहिले निजी अस्पताल नै रोज्ने गरेको अवस्था छ । र, यो अवस्था कायम रहीरहदा स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा पूर्ण क्रियान्वयन सम्भव हुदैन भन्ने सबैले बोध गर्नु आवश्यक छ ।
सेती अञ्चल अस्पतालमा केही दिन अघि भएको सुत्करीको मृत्यु घटनाको इमान्दारि र संवेदनशीलताका साथ छानबिन गर्ने र निष्पक्ष ढंगले सत्यतथ्य जनसमक्ष ल्याउनु आवश्यक छ । यो घटना कुनै व्यक्ति विशेषसंग जोडिएको अथवा कसैको गल्तीकमीकमजोरीको कुरा मात्रै होइन र यसलाई आगामी दिनमा सुधारका लागि राम्रो आधारका रुपमा लिइनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार