सञ्चारकर्मीसंग ट्राफिक सचेतना कार्यक्रम
धनगढी । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चारकर्मीसंग ट्राफिक सचेतना कार्यक्रम गरेको छ । दुर्घटना न्यूनिकरण गर्न तथा आम नागरिकलाई सचेतना फैलाउन सञ्चारमाध्यमको महत्वपूर्ण भुमिका रहेको भन्दै सो कार्यक्रम बुधबार गरिएको हो ।
ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनिकरणका लागि स्कुल सम्पर्क कार्यालय, सवारी चालकलाई प्रशिक्षण कार्यक्रम, मादक पदार्थ सेवन कक्ष सञ्चालन लगायतका कार्यक्रम गरिरहेको जनाएको छ ।
कार्यालयले आर्थिक बर्ष २०७५–७६ को पुससम्म कैलालीमा बाह्र हजार आठ सय ५६ सवारीसाधन कारबाहीमा परेको जनाएको छ । तिनीहरुलाई गरिएको जरिवानाबाट ७४ लाख ७० हजार रुपैया“ राजस्व संकलन भएको छ । सोही अवधिमा भएका ७४ सवारी दुर्घटनामा ३४ जनाको मृत्यु र एक सय २२ जना घाइते भएका छन् ।
नेपालमा सवारी दुर्घटनामा परी प्रतिदिन ५ देखि ७ जनाको ज्यान जाने गरेको छ भने १४ देखि २० जना अपांग हुने गरेका छन् । ट्राफिक इन्चार्ज अनिलसिंह उप्रेतीले ट्राफिक नियम पालना गर्न नजान्दा झन्डै ९१ प्रतिशत, चालकको लापरबाहीले ३ प्रतिशत र तीव्र गतिका कारण २ प्रतिशत सवारी दुर्घटना हुने गरेको बताए ।
सवारी दुर्घटना मानविय, यान्त्रिकरणमा गडबड र प्राकृतिक गरि तीन कारणले हुने गरेको छ । देशभरी ९१ प्रतिशत सवारी दुर्घटना चालकको लापरबाहीले हुने गरेको छ भने सबैभन्दा बढी मोटरसाईकल दुर्घटना (४८ प्रतिशत) रहेको छ ।
विश्व स्वास्थ्य संगठनले सन २०२० मा सवारी दुर्घटनाका कारण मृत्यु हुने कारण दोस्रो नम्बरमा पुग्ने जनाएको छ ।