७ चैत्र २०८१, शुक्रबार

धनगढीमा तरुण दलको वृहत विरोध प्रदर्शन



धनगढी । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले कञ्चनपुरका बालिका निर्मला पन्तको बलात्कार र हत्याकाण्डमा गृहमन्त्री रामबहादुर थापाका छोरामाथि पनि अनुसन्धान गर्न माग गरेको छ । “कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको छ महिना वितिसकेको छ, तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन” तरुण दलद्वारा सोमबार धनगढीमा आयोजित वृहत विरोध प्रदर्शन तथा सभामा तरुण दल केन्द्रीय अध्यक्ष जीतजंग वस्नेतले प्रश्न गरे– “निर्मला पन्तको हत्या भएको दिन गृहमन्त्रीका छोरा कहाँ थिए ? हामी उहाँमाथि पनि अनुसन्धान गर्न माग गर्दछौं ।”
तरुण दल अध्यक्ष वस्नेतले गृहमन्त्रीका छोराको डिएनए परीक्षण र पोलिग्राफी टेष्ट गर्न माग गरे । उनले भने, “जबसम्म गृहमन्त्री थापाले राजीनामा दिँदैनन् र उनी गृहमन्त्री पदमा रहिरहेसम्म निर्मला हत्याकाण्डमा संलग्न अपराधीलाई कारवाही हुने देखिदैन ।”
अध्यक्ष वस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गृहमन्त्री थापालाई पदमुक्त गरेर निर्मला बलात्कार तथा हत्या घटनाको निष्पक्ष छानविनको बाटो खोल्न’ आग्रह गरे । उनले सरकारले नै निर्मला हत्याकाण्डका दोषिहरूलाई संरक्षण गरिरहेको आरोप लगाए ।
उनले वर्तमान सरकार ३३ केजी सुन काण्ड, वाइडबडी खरिद प्रकरण आदिमा भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।
विरोध सभामा तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तमकुमार चापागाईले सरकारले संसदीय मर्यादा विपरित काम गरिरहेको आरोप लगाए । उनले संसदीय बहुदलीय प्रणालीमा सरकारले सहमति र सहकार्य गरेर अघि बढ्नुपर्नेमा नेपाली काँग्रेसले संसदमा विरोध गरिरहँदा पनि बहुमतको दम्भमा चिकित्सा शिक्षा विधेयक पारित गरेको बताए । उनले कम्यूनिष्ट सरकारले विश्वमा कही पनि नभएको गलत संसदीय अभ्यासको विकास गरेको बताए । उनले सरकारले डाक्टर गोविन्द केसी अनसन बसीरहेको अवस्थामा विधेयक पारित गर्नु सर्वथा अनुचित भएको आरोप लगाए ।
उनले भने– “डाक्टर केसी हामी तरुण दलको पक्षमा हुनुहुन्छ वा हुनु हुँदैन भन्ने छुट्टै पक्ष हो, तर हामी सधैं उनको पक्षमा रहिरहने छौं ।”
तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले संसदमा सभामुखको भूमिका निष्पक्ष नभएको आरोप लगाए । उनले भने– “सभामुखज्यू तपाईंको भुमिका सच्चिएन भने हामी देशभरबाट एक लाख युवा काठमाडौंमा ल्याएर संसद कब्जा गर्नेछौं ।”
नेपाल तरुण दल कैलाली शाखाका अध्यक्ष दीपेन्द्र बमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विधान गुरुङ्, डोटीका जिल्ला अध्यक्ष नारायण बराल, कञ्चनपुरका अध्यक्ष महेश चन्द लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसअघि धनगढीको ट्राफिक चौराहदेखि पार्कमोडसम्म तरुण दलले विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनमा डाक्टर गोविन्द केसीको माग पूरा गर, महंगी नियन्त्रण गर, शान्ति सुरक्षा कायम गर, निर्मलालाई न्याय दे लगायतका नारा लगाइएका थिए । विरोध जुलुसमा नौ वटै जिल्लाका हजारौंको संख्यामा तरुण कार्यकर्ताको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार