बैतडीमा सुविधायुक्त अस्पताल छैन, सयौं बिरामी भारत जान बाध्य
बैतडी । सुदूरपश्चि प्रदेशको पहाडी जिल्ला बैतडीमा सुविधायुक्त अस्पताल नहुँदा दैनिक सयौंको संख्यामा बिरामीहरु उपचार गर्न भारत जानुपर्ने बाध्यता छन् ।
चारदिन पानी पर्दा बैतडी अस्पतालको सोलार बन्दभएपछि एक्स–रे र अल्ट्रासाउण्ड मेशिनले काम गर्न छोडेको छ । एक्स–रे मेशिन बन्द भएपछि हात भाँचिएका लगायत बिरामी भारत जान थालेका हुन् ।
पिथौरागढमा रहेको हड्डी सम्बन्धि उपचार गर्ने डा. रेणु जगदिश हस्पिटमा हात भाँचीएकी बैतडीकी १३ वर्षिय सरिता रानाको हातमा प्लाष्टर गरेर बिहीबार घर फर्किइन । सोलारबाट चल्ने बैतडी अस्पतालको एक्स–रेले कामै गरेन । प्लास्टर गर्ने डाक्टर पनि थिएन । ऋण काडेर छोरीको उपचार गर्न भारत गएको बुवा करन रानाले बताए ।
हड्डी भाँचिएका मात्र होइन सामान्य ज्वरो, निमोनिया र दमका बिरामीले भारतीय अस्पताल खचाखच भरिएका छन् । भारतको पिथौरागढस्थित बसेडा अस्पतालमा दैनिक ४०÷५० जना नेपाली बिरामी पुग्ने गरेका छन् । नेपाली बिरामीले त्यहाँ कुनै बेड खाली हुँदैन ।
हड्डी सम्बन्धि अर्को बिष्ट अस्पताल, जनरल उपचार हुने पिथौरागढ जिल्ला अस्पताल, महिला रोग सम्बन्धि उपचार गर्ने भारतीय अस्पतालमा जताततै सुदूर पहाडका सयौं बिरामी नेपाली उपचार गर्न बाध्य भएका छन् ।
भारतको पिथौरागढको सरकारी र निजी अस्पतालमा सुदूर पहाडका बैतडी, बझाङ,बाजुरा र दार्चुला जिल्लाबाट दैनिक दुईसय भन्दा बढी नेपाली उपचार गर्न भारत जाने गरेको लामो समय भारतमा पेट सम्बन्धि उपचार गराउँदै आईरहनु भएका महानन्द भट्टले बताए ।
जिल्ला अस्पताल बैतडीमा विशेषज्ञ डाक्टरको दरबन्दी नै छैन । अस्पतालमा अत्याधुनिक उपकरणको अभाव छ । तीन दिन घाम नलागे सोलार बन्द हुँदा बैतडी अस्पताल नै अँध्यारो भएकोे जिल्ला अस्पताल बैतडीका मेडिकल अधिकृत डा. जगदिश बिष्टले बताए ।
स्थानीय तहको पुनः संरचनापछि स्वास्थ्य क्षेत्र झनै लथालिङ बनेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सिनियर अहेब भुवन जोशीले बताए । दशरथ चन्द नगरपालिकामा गर्भवति महिलाले अनिवार्य खानु पर्ने फोलिक एसिड नामक औषधि किन्न बजेट नहुँदा गर्भवति महिला र रक्त अल्पता भएका किशोरीहरुले औषधि खान पाएका छैनन् ।
स्वास्थ्य क्षेत्रका बारेमा न पर्याप्त बजेट छ, न जनप्रतिनिधिहरु जानकार छन् । स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्र संचालन गर्न जनप्रतिनिधिहरुलाई कठिनाई भईरहेको दशरथ चन्द नगरपालिकाका मेयर नरेन्द्रसिंह थापाले बताए । नगरपालिकाले बजेट दिने हो । त्यो पनि पर्याप्त छैन । अरु हामीलाई थाहा हुने विषय भएन, मेयर थापाले भने ।
जिल्लामा विशेषज्ञ डाक्टरसहितको सुबिधायुक्त अस्पताल बन्नुपर्ने बैतडीवासीले माग गरेका छन् । स्थानीय तहको पुनःसंरचना गर्दा प्रत्येक पालिकामा सुविधायुक्त अस्पतालको परिकल्पना गरिए पनि अहिलेसम्म जिल्लामै एउटा सुविधायुक्त अस्पताल बन्न नसकेको नागरिकले गुनासो गरेका छन् ।
नेपालको संविधानले प्रत्येक नेपालीलाई स्वास्थ्य उपचार सम्बन्धि मौलिक हक हुने छ भने पनि जिल्लामा उपचार गर्ने सुबिधायुक्त अस्पताल नहुँदा भारत जानुपर्ने बाध्यता रहेको नागरिक समाज बैतडीका सचिव कर्णदयाल सोराडीले बताए ।