१८ आश्विन २०८१, शुक्रबार

सांसद चौधरीलाई सपथ ग्रहण गराइएकोमा स्वागत



धनगढी । थारू कल्याणकारिणी सभा तथा थरुहट/थारूवान संयुक्त संघर्ष समितिले कैलालीको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद रेशमलाल चौधरीलाई सपथ ग्रहण गराइएकोमा स्वागत गरेको छ ।
सांसद चौधरीलाई निर्वाचित भएको एक वर्षपछि बिहीबार सपथ ग्रहण गराइएको थियो । सपथ ग्रहण लगत्तै सांसद चौधरीलाई पुनः जेल (काठमाडौं जिल्ला कारागार) चलान गरिएको छ ।
थारू कल्याणकारिणी सभा र थरुहट/थारूवान संयुक्त संघर्ष समिति कैलालीले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी ढिलो गरी सपथ ग्रहण गराइए पनि जनमतको कदर गरिएकोमा स्वागत गरिएको छ । संघर्ष समितिले सपथ ग्रहणपछि पनि जेल जानु पर्ने भएकोमा दुःख व्यक्त गरेको छ ।
“ढिलै भए पनि कैलाली क्षेत्र नम्बर १ का जनताको मतको कदर भएको छ र सरकारले आफ्नो दायित्व पुरा गरेको हामीले महसुस गरेका छौं” संयुक्त विज्ञप्तिमा भनिएको छ– “तर सपथ ग्रहण लगत्तै राज्यले पुनः जेलभित्र पठाउने कार्यले हामी दुःखी भएका छौं ।”
राज्यस“ग अधिकार प्राप्तीको लागि भएको आन्दोलन गर्दा टीकापुर घटना भएकाले यसलाई राजनीतिक रूपमा लिन र सांसद चौधरी लगायत घटना गराएको अभियोगमा थुनिएका सम्पूर्णलाई रिहा गर्न पनि विज्ञप्तिमार्फत पुनः माग गरिएको छ ।
थारू कल्याणकारिणी सभाका कार्यबाहक अध्यक्ष माधव चौधरी र संयुक्त संघर्ष समितिका कार्यबाहक संयोजक कृष्णकुमार चौधरीले हस्ताक्षर गरेको विज्ञप्तिमा टीकापुर घटना राजनीतिक रूपमा समाधान हुनेमा आफूहरू आशावादी रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार