रेशम चौधरी आज शपथ ग्रहण गर्दै
काठमाडौँ।टीकापुर घटनाको मुख्य अभियुक्तको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीले शपथ लिने भएका छन् । बिहीबार बिहान साढे ११ बजे प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको कार्यकक्ष सिंहदरबारमा उनलाई सांसदको शपथ ग्रहण गराउन लागिएको सभामुखमा प्रेस सल्लाहकार डिल्ली मलल्ले बताएका छन् । 
उनी कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद हुन्। राजपाका नेताहरुले सांसद चौधरीलाई शपथ दिलाउन र संघीय संसदको काम कारबाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसदमा र सचिवालयसँग बारम्बार माग गर्दै आएका थिए।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्बाङले निर्वाचन आयोगले चौधरी विजय भएको प्रमाण पत्र सभामुखको कार्यकक्षमा पठाएपछि शपथको लागि प्रक्रिया सुरु गरिएको जानकारी दिए।
उनले भने, ‘सभामुखले चौधरीलाई मेरै कार्यकक्षमा ल्याए म शपथ गराउँछु भन्नु भएको थियो। कानुन बमोजिम यो शपथ प्रक्रिया अघि बढाउन हामीले भूमिका खेलेको हौं। उहाँको मुद्दा र यो शपथ फरक कुरा हो। ती हामीसँग सम्बन्धित कुरा होइन। त्यसैले शपथ गराउन पहल गरेका हौं। उहाँको मुद्दा कानुनअनुसार अघि बढ्छ।’
चौधरी गत वर्ष भएको प्रतिनिधि सभाको चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट ३४३४१ मत ल्याएर विजयी भएका थिए। उनको निकटतम प्रतिस्पर्धी तत्कालीन वाम गठबन्धबाट एमाले उम्मेदवार मदनकुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मत मात्र ल्याएकी थिइन्। चौधरी र शाहबीचको मतअन्तर २० हजार ९ सय ३५ थियो।
चौधरी कैलाली घटनाका मुख्य आरोपी भएको हुन्। घटनापछि उनी प्रहरीको फरार अभियुक्तको सूचीमा थिए। उनले वारेसनामा मार्फत् उम्मेदवारी दिएका थिए।
०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो। उक्त आन्दोलनलाई चर्काउन चौधरीले मुख्य भूमिका खेलेको आरोप लागेको थियो।
चुनाव जितिसकेपछि गत फागुन १४ गते सोमबार अदालतसामू आत्मसमर्पण गरेका थिए। टीकापुर घटनाका अभियुक्त रेशम चौधरी पूर्पक्षका लागि जेल चलान भएका भएका थिए। न्यायाधीश परशुराम भट्टराईको इजलासले चौधरी कसुरदार छैनन् भन्न सकिने अवस्था नभएको भन्दै थुनामा पठाएका थिए।
– ईकान्तिपुर




