शैक्षिक सामग्री तथा शुल्क हस्तान्तरण
धनगढी । सरकारी विद्यालयमा अध्ययनरत ७० जना बालिकालाई शैक्षिक सामग्री तथा वार्षिक शुल्क हस्तान्तरण गरिएको छ ।
महिला विकास समाज कैलालीले धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा रहेका तीन वटा सरकारी विद्यालयका ७० जना बालिकालाई शैक्षिक सामग्री सहित वार्षिक शुल्क हस्तान्तरण गरेको जनाइएको छ ।
स्टप गल्र्स ट्राफिकिङ कार्यक्रम अन्तर्गत बालिका सहयोग कार्यक्रममार्फत धनगढी उपमहानगरपालिकाको मनहेरास्थित मुक्तिनाथ प्राथमिक विद्यालयका १२ जना बालिका तथा सरस्वति माध्यमिक विद्यालयका ४८ जना बालिका र धनगढी गाउँस्थित धनगढी उच्च माध्यमिक विद्यालयका १० जना बालिकालाई ती सामग्री हस्तान्तरण गरिएको थियो ।
सरस्वति माध्यमिक विद्यालयका बालिकाहरूलाई विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्रबहादुर शाह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद राना, महिला विकास समाजका अध्यक्ष शान्ति शर्मा र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य भीम चौधरीले शैक्षिक सामग्री हस्तान्तरण गरे ।
दोस्रो चरणको कार्यक्रम अन्तर्गत कक्षा एकदेखि तीनसम्मका बालिकालाई एक हजार ५९ रुपैयाँ बराबरको स्वीटर, कपी, पेन्सिल, ईलेजर हस्तान्तरण गरिएको छ ।
त्यस्तै, कक्षा ४ र ५ का बालिकालाई एक हजार दुई सय २६ रुपैयाँ बराबरको, कक्षा ६ र ७ का बालिकालाई एक हजार ६ सय ३० र कक्षा ८ देखि १० सम्ममा अध्ययनरत बालिकालाई दुई हजार ४५ रुपैयाँ बराबरको स्वीटर, कपी, डटपेन हस्तान्तरण गरिएको छ । शैक्षिक सामग्री हस्तान्तरण गरिएका सबै बालिकाको वार्षिक लाग्ने शुल्क समेत विद्यालयलाई प्रदान गरिएको छ ।
कैलाली जिल्लाका विभिन्न विद्यालयका गरिब, जेहेनदार र अभिभावक नभएका नौ सय ७७ बालिकाहरूलाई कक्षा एक देखि १२ सम्म पढाउँदै आएको महिला विकास समाज कैलालीले कक्षा १० मा अध्ययनरत बालिकाहरूलाई ट्यूसन फि पाँच हजार पाँच सय तथा कक्षा ८ र ९ मा अध्ययनरत बालिकाहरूलाई कोचिङ शुल्क बाफत वार्षिक एक हजार दुई सय रुपैयाँ प्रदान गर्दै आएको महिला विकास समाजका अध्यक्ष शान्ति शर्माले बताए ।
विपन्न बालबालिकालाई शैक्षिक सामग्री प्रदान
बाह्रवन साझेदारी वन व्यवस्थापन समिति, धनगढी उपमहानगरपालिका वडा नम्बर २ को वार्षिक कार्यक्रममध्ये वडाका चार वटा सरकारी विद्यालयमा अध्ययनरत ६० जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका सांसद टेकबहादुर रैका, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, वडाध्यक्ष नरबहादुर बम लगायतले मंगलबार एक कार्यक्रमबीच विपन्न बालबालिकालाई ती सामग्री वितरण गरेका थिए ।
कार्यक्रम बाह्रवन साझेदारी वन व्यवस्थापन समितिका वडा संयोजक धर्मराज ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बाह्रवन साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष ठक्करबिक्रम शाही, वडा सदस्यहरू, शिक्षक, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
सामाजिक विकास उपसमिति संयोजक राजबहादुर ऐरले स्वागत गरेको कार्यक्रमको वाह्र वन साझेदारी वन व्यवस्थापन समिति धनगढी–६ का संयोजक डण्डीराज सुवेदीले सञ्चालन गरेका थिए ।




