नेकपाको खोक्रो राष्ट्रवाद– राप्रपा अध्यक्ष थापा
धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रवादको नारा बोकेर निर्वाचनमा गएको नेपाल कम्युनिस्ट पार्टी सरकारमा पुगेपछि लम्पसारवादमा परिणत भएको आरोप लगाएका छन् ।
“केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले शुरुवाती चरणमा लोकप्रिय बन्नका लागि विभिन्न निर्णय गरे पनि ती निर्णयहरू कार्यान्वयन गर्न असफल भएको छ” राष्ट्रिय प्रजातन्त्र पार्टीको आइतबार धनगढीमा आयोजित प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले भने– “वर्तमान सरकार ३३ किलो सुनकाण्डका दोषिहरूलाई पक्राउ गर्न असफल भएको छ । विकास आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारहरूलाई कारवाही गर्ने निर्णय कागजमा सीमित भएको छ भने यातायातमा विद्यमान सिण्डिकेट अन्त्य गर्ने निर्णय पनि गफमै सीमित भएको छ ।”
उनले पछिल्लो निर्वाचनमा आम नेपाली जनताले नेकपालाई राष्ट्रवादी शक्ति ठानेर दुई तिहाई बहुमतका साथ विजयी गराए पनि सरकारका कामबाट जनतामा निराशा बढिरहेको दावी गरे ।
पूर्व गृहमन्त्री समेत रहेका अध्यक्ष थापाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्याराहरू अझैंसम्म पत्ता लगाउन नसक्नु सरकारको ठूलो कमजोरी भएको चर्चा गरे ।
अध्यक्ष थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातन्त्र सहितको राजसंस्थाको पक्षमा रहेको दोहोर्याए । उनले दावी गरे– “नेपाली जनतामा राजसंस्थाप्रतिको माया बढिरहेको छ । केही वर्षभित्रै प्रजातन्त्रसहितको राजसंस्था फर्किने छ ।” उनले १२ वर्षसम्म राजसंस्था बिनाको देश अहिले अभिभावकबिहीन बनेको चर्चा गरे ।
उनले पशुपति समसेर राणाको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीसितको एकताका लागि छलफल अन्तिम चरणमा पुगेको बताए ।
सो अवसरमा पार्टीका महामन्त्री राजेन्द्र लिंदेलले राप्रपाले नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियान जारी राखेको बताए ।