वैकल्पिक उर्जा विकासका लागि समझदारीपत्रमा हस्ताक्षर
धनगढी । सुदूरपश्चिम प्रदेशमा समन्वयात्मक रूपमा नविकरणीय उर्जाको प्रवद्र्धन र विकासको लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र भौतिक पूर्वाधार विकास मन्त्रालय लगायत ६ वटा गाउँ तथा नगरपालिकाहरू बीच छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल सरका र जिआईजेडबाट संयुक्त रूपमा सञ्चालित ग्रामीण क्षेत्रका लागि नविकरण उर्जा कार्यक्रमका सुदूरपश्चिम प्रदेशका साझेदार शुक्लाफाँटा नगरपालिका तथा चुरे, कडीकेदार, दोगडाकेदार, वित्थडचिर, केदारस्यु गाउँपालिका तथा भौतिक पूर्वाधार विकास मन्त्रालयबीच हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा भौतिक पूर्वाधार विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशका सचिव ईन्द्रदेव भट्ट, केन्द्रका कायम मुकायम कार्यकारी निर्देशक नवराज ढकाल र सम्बन्धित गाउँपालिकाका अध्यक्ष तथा नगरपालिकाका प्रमुखहरूद्वारा हस्ताक्षर गरिएको थियो । हस्ताक्षरकर्ताहरू साझेदार सुदूरपश्चिम प्रदेश र गाउँ तथा नगरपालिकाको स्वच्छ उर्जाको अवस्थामा सुधारल्याउन, भरपर्दा, सुलभ र आधुनिक उर्जामा पहुँच बढाउन संयुक्त रूपमा कार्य गर्नका लागि सहमत भएका छन् ।
दीर्घकालीन रूपमा नविकरणीय उर्जा श्रोतबाट दुर्गम क्षेत्रका जनताको जीवनस्तरमा सुधार ल्याउन, उद्यमशीलता प्रवद्र्धन गर्न, लघु पूर्वाधार सिर्जना गर्न र सामाजिक र वित्तीय पुँजी निर्माण गरी गरिबी न्यूनीकरण योगदान पुर्याउन मन्त्रालय, गाउँ तथा नगरपालिका र केन्द्र सहमत भएका छन् ।
यसका लागि ग्रामीण क्षेत्रका लागि नविकरण उर्जा कार्यक्रमको प्राविधिक सहयोगमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले सुदूरपश्चिम प्रदेश र त्यहाँका ५ गाउँपालिका तथा १ नगरपालिकालाई नविकरणीय उर्जा कार्यक्रम सञ्चालनको लागि क्षमता अभिबृद्धि, प्रविधिको प्रवद्र्धन र यससँग सम्बन्धित क्रियाकलापहरूको कार्यान्वयनमा सहयोग गर्नेछ । यस प्रकारका सहयोगहरू निजी क्षेत्र, गैरसरकारी संघ संस्थाहरू, समुदायमा आधारित संस्थाहरूसँगको साझेदारीमा सञ्चालन गरिनेछ ।
ग्रामीण क्षेत्रका लागि नविकरण उर्जा कार्यक्रम नेपाल सरकार र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको साझेदारीमा नेपालको साना नविकरणीय उर्जा क्षेत्रमा कार्य गर्ने एक प्रविधिक सहयोगको कार्यक्रम हो । यो कार्यक्रम नेपाल सरकारको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र जिआईजेडद्वारा संयुक्त रूपमा कार्यान्वयन गरिएको छ । जर्मन सरकोको करिब ५० करोड रुपैयाँको सहयोगमा सञ्चालित यो कार्यक्रम पहिलो चरणमा २०१६ अक्टोबरदेखि ३ २०१९ सेप्टेम्बरसम्म सञ्चालनमा हुने छ ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह वोहराले प्रदेशको समृद्धि, सुख, शान्तिका लागि यो कार्यक्रम अगाडि ल्याएको बताए ।
कार्यक्रममा जर्मनका क्रिष्टियन लिट्के, दोगडा कदारका अध्यक्ष चक्रबहादुर कार्की, केदारस्युकी उपाध्यक्ष निशा धामी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।




