१२ श्रावण २०८१, शनिबार

विकास निर्माणलाई प्रकृतिमैत्री बनाउनुहोस्– प्रदेश प्रमुख मल्ल



धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लले विकास निर्माण कार्यलाई प्रकृतिमैत्री बनाउन जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् । प्रदेश प्रमुख मल्लले जनप्रतिनिधिहरूसँग वातावरणीय सन्तुलनमा नकारात्मक असर पुर्‍याउने खालको विकास निर्माण कार्यप्रति सजग हुन पनि आग्रह गरे ।
“अहिले विकास निर्माणका नाममा प्रकृतिसँग निहु खोज्ने काम भएको देखिन्छ” शनिबार धनगढीमा आयोजित ‘मेयर लिडरसीप कन्फ्रेन्स– २०१८’ को उद्घाटन गर्दै प्रदेश प्रमुख मल्लले भने– “विकास निर्माणका नाममा प्राकृतिक सन्तुलनमा नकारात्मक असर पुर्‍याउँदा पछि गएर नागरिकले नै समस्र्य समस्या भोग्नु पर्ने हुन्छ ।” उनले बनजंगल विनास गरेर जथाभावी रूपमा सडक लगायतका भौतिक संरचना निर्माणका कारण बाढी, पहिरो, सडक दुर्घटना लगायतका जोखिम बृद्धि भइरहेको चर्चा गरे ।
प्रदेश प्रमुख मल्लले जनप्रतिनिधिहरूलाई प्रदेशको समृद्धिका लागि दलगत राजनीतिभन्दा माथि उठेर तथा एकजुट भएर लाग्न आग्रह गरे । उनले भने– “देशमा राजनीतिक अस्थिरताको अन्त्य भइसकेको छ । अब हामी सबै मिलेर प्रदेशको द्रुत आर्थिक विकासका साथै समाजमा व्याप्त कुरीति, कुसंस्कारको अन्त्यका लागि अगाडि बढ्नै पर्दछ ।”
उनले कतै बाहिरबाट मान्छे आएर हाम्रो प्रदेशको विकास गर्ने नभएकाले आफ्नो प्रदेशको विकास लागि सबै एकजुट हुनुको विकल्प नरहेको दोहोर्‍याए । प्रदेश प्रमुखले भने– “अझै पनि प्रदेशमा भवनसहित भौतिक संरचनाको कमी, कर्मचारी अभाव, प्रविधिको कमी जस्ता समस्या कायमै रहेको चर्चा हुने गरेको छ । यी सबैको समाधानका लागि प्रदेश सरकारले ठोस् योजना बनाएर कार्यान्वयन गर्नु पर्दछ ।” उनले कतिपय स्थानीय तहले जनताका पक्षमा काम गर्न नसकेको गुनासो आइरहेको प्रति ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा सहभागी विज्ञहरूले प्रस्तुतिकरण गर्दै जनताको समृद्धि र मुलुकको विकासमा स्थानीय तहका जनप्रतिनिधि सजग र गम्भीर हुन आग्रह गरे । विज्ञहरूले मुलुक नयाँ राज्य व्यवस्थाको अभ्यासमा रहेकाले यसको दिगो विकासको पूर्ण अभिभारा जनप्रतिनिधिकै काँधमा रहेको चर्चा गरे ।
विकासविद् चन्द्रमणि अधिकारीले मुलुक नयाँ व्यवस्थाको अभ्यास र नयाँ कानून कार्यान्वयनका चरणमा रहेकाले यसको सफलताका लागि जनप्रतिनिधिहरूको अझ बढि सक्रियताको खाँचो रहेको बताए ।
संविधानविद् टीकाराम भट्टराईले भदौ १ गतेबाट लागू भएका मुलुकी फौज्दारी र देवानी संहितामा भएका व्यवस्थाहरूको कार्यान्वयनमा स्थानीय तहका जनप्रतिनिधिको सबैभन्दा बढी भूमिका रहेको बताए । संविधानविद् भट्टराईले मुलुकी देवानी संहिताका अधिकांस व्यवस्था जनताको जीवनसँग जोडिएकाले ती व्यवस्थाको पूर्ण कार्यान्वयन सफलतामा स्थानीय जनप्रतिनिधिहरूको बढी जिम्मेवारी रहेको बताए ।
कार्यक्रममा असल सरकार, शान्ति र दिगो विकासका लागि जनप्रतिनिधिहरूको भूमिका विषयमा प्रस्तुति गर्दै युनिभर्सल पिस फेडरेशनका डाक्टर रोवट क्रिटेलले जनप्रतिनिधिहरू समाजका अभिभावक हुने भएकाले विकास निर्माणको अभिभावकत्व ग्रहण गर्नुपर्ने बताए ।
कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिले दिगो विकास र जनताको समृद्धिका लागि कटिबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रदेशका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, कानूनविद्, विकासविद्, शिक्षाविद् तथा अर्थविद्हरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार