१९ आश्विन २०८१, शनिबार

उपभोक्ता समितिबाट गरिने काम स्वकीकार्य छैन् : मुख्यमन्त्री शाह (भिडियो सहित)




धनगढी/ सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले उपभोक्ता समितिबाट कुनै पनि विकास, निर्माणका काम गर्दै नगर्ने कसैले गरेको भेटिएमा कारबाहीको भागेदार हुने बताएका छन् ।

शनिबार धनगढीमा आयाोजित प्रदेश विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दे उनले उपभोक्ता मार्फत काम हुनै सक्दैन, यो मेरो निर्देशन हो, मलाई स्वीकार्य हुँदैन भने ।

आफूले बजेट भाषण अघि घोषणा गरेका चार बुँदे अनुसार नै बजेटका काम गर्ने मुख्यमन्त्रीले बताए । चार बुँदेमा उपभोक्ता समितिबाट योजना कार्यान्वयन नगर्ने, २५ लाख बढीका योजना मात्र ल्याउने, २५ लाख मुनीका योजना सञ्चालन गर्ने नै भए पनि स्थानीय तहलाई वित्तिय हस्तान्तरण गरेर मात्र गर्ने र व्यक्ती, नीजि फर्म, समूह, संस्था तथा कम्पनीका नाम तोकेर बजेट विनियोजन नगर्ने उल्लेख छ ।

उनले सुदूरपश्चिम सरकारले देशलाई नै सन्देश दिने गरेर काम गर्नु पर्नेमा जोड दिए । समस्या समाधान समितिको बैठकलाई सम्वोधन गर्दे उहाँले कृषि अनुदान दिने क्रममा पनि सीमित व्यक्ति र क्षेत्रमा बजेट परेको भए कार्यान्वयन गर्न दिदै नदिने बताए ।

मुख्यमन्त्री शाहले आफू पहिलो १४ महिने कार्यकालमा पनि गोदावरी राजधानी कार्यान्वयन गर्न लागेको र दोस्रो कार्यकालमा पनि लाग्ने बताउदै त्यसका लागि समस्या समाधान समितिका सबैको योगदान जरुरी भएको संकेत गरे ।

मैले तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग नै आफूले कि राजधानी बनाउन जग्गा हस्तान्तरण गर्नुस नत्र अर्को विकल्प खोज्छु भनेको थिए, त्यति बेलाका सत्ता पक्षका शिर्ष नेतालाई पनि त्यही भने अब अहिलेका प्रधानमन्त्रीलाई पनि त्यही भन्छु उनले भने ।

समस्या समाधान समितिमा मुख्यमन्त्री अध्यक्ष, मन्त्रीहरु, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिव सदस्य हुने व्यवस्था छ । शनिबारको बैठकमा अर्थ सचिव झलकराम अधिकारीलाई समेत आमन्त्रण गरिएको थियो ।

सो बैठकका एजेण्डा यसअघि नै समस्या समाधान उपसमितिका संयोजक तथा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश विश्वकर्माको नेतृत्वमा बसेको बैठकले तय गरेको थियो । सो उपसमितिका सबै मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार