२९ आश्विन २०८१, मंगलवार

एमाले प्रदेश अध्यक्ष जैसीले रावललाई दिए चेतावनी



एमाले नेता रावल र भट्ट


धनगढी/ नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले तल्ला कमिटी तथा पार्टीका कार्यकर्ता र समर्थक शुभेच्छुकको बीचमा भ्रम नछर्न सोही पार्टीका पूर्वकेन्द्रीय उपाध्यक्ष डा. भीमबहादुर रावललाई चेतावनी दिएका छन् ।

अध्यक्ष जैसीले सोमबार एक प्रेस विज्ञप्ती जारी गरेर रावललाई चेतावनी दिएका हुन । उनले विज्ञप्तीमा लेनिनवादी संगठनात्मक सिद्धान्तसँग मेल नखानेगरी अनावश्क रुपमा सामाजिक सञ्जालमा अन्तरविरोध चर्काउने गरेर लेखिएको विषयप्रति नेकपा (एमाले) सुदूरपपश्चिम असहमति प्रकट गर्दछ भनेका छन् ।

अध्यक्ष जैसीले विज्ञप्तीमा केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश ईञ्चार्ज लेखराज भट्टले सञ्चार माध्यममा बोलेको कुराको खण्डन गर्ने नाममा रावलले भ्रम छर्न खोजेको बताइएको छ ।

एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा रावलसंग सम्वाद गर्न बनेको कार्यदलसंग रावलले तपाईहरुसित होइन अध्यक्ष केपी शर्मा ओलीसित समस्या छ भनेर विभिन्न सञ्चार माध्याममा बोलेका थिए ।

सोही विषयमा प्रतिक्रिया दिदै नेता रावलले आफूले त्यस्तो कुरा नगरेको लेखराजजीले गलत र असत्य बोलेको भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका थिए । सोही विषयलाई लिएर प्रदेश अध्यक्ष जैसीले विज्ञप्ती जारी गरेको बताइन्छ ।

विज्ञप्तीमा प्रदेश अध्यक्ष जैसीले भनेका छन् –पार्टी केन्द्रीय अध्यक्षसँग एक पटक सम्वाद भइसकेपछि निरन्तरता दिनु पर्नेमा बोलाएपछि मात्र जान्छु भन्ने र अन्य नेतृत्वसँग आफ्नो व्यक्तिगत केही छैन भनिसकेपछि सामाजिक सञ्चालमा लेखीरहने प्रवृति पार्टीका लागि घातक हुने भएकोले केन्द्रीय अध्यक्षसँग नै वार्ता अगाडि बढाउन तथा तल्ला कमिटी तथा पार्टीका कार्यकर्ता र समर्थक शुभेच्छुकको बीचमा भ्रम नछर्न चेतावनी दिन चाहन्छु ।

जैसीले पार्टी तथा विभिन्न मोर्चामा पाँच दशक लामो यात्रा गर्नुहुने र पार्टी तथा सरकारको उच्च ओहदामा काम गर्ने अवसर र अनुभव प्राप्त व्यक्तिले पार्टी र आन्दोलनको पक्षमा मात्र वकालत गर्न समेत आग्रह गर्दै यस्तै गतिविधि बढ्दै गए तपाईप्रतिको कार्यकर्ताको विश्वास झन् झन् टुट्दै जाने विषयको समेत ध्यानाकर्षण गराउन चाहन्छु भनेर सो विज्ञप्तीमा भनेका छन् ।

अध्यक्ष जैसीले सम्पूर्ण पार्टी पंक्ति एकतावद्ध हुन तथा भ्रममा नपर्न पनि अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार