३ जेष्ठ २०८१, बिहीबार

दुई वर्षदेखि बाख्राको खोरमा



लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६, बाहुनपुरकी १९ वर्षीया तारा जैशी दिनभरी बाख्राको खोरमा बिताउँछिन् । मानसिक रूपमा निकै अस्वस्थ तारालाई बाध्य भएर दिनभरी बाख्राको खोरमा बाँधेर राख्नु परेको उनका अभिभावक बताउँछन् ।
उनकी आमा सुर्जकलाका अनुसार ताराले घरबाट भाग्ने, शरीरको कपडा च्यात्ने, जथाभावी सामान फ्याक्ने गर्छिन् । आर्थिक अवस्था निकै कमजोर भएकी सुर्जकलाको परिवारका सदस्य दिउसो मजदूरी गर्न वा बनबाट दाउरा ल्याएर बेच्न जानुपर्ने भएकाले तारालाई बाँधेर दिभरी बाख्राको खोरमा राख्नु परेको सुर्जकलाले बताइन् ।
सुर्जकलाको परिवार पहिले दैलेखको लिउडामा बसोबास गर्दथ्यो । उनका अनुसार तारा उनकी दोस्रो सन्तान हुन् । “जन्मिने बेला तारा स्वस्थ थिइन्” सुर्जकलाले भनिन्– “छ महिनाकी भएपछि उनको शरीर पाक्न थाल्यो । धामीझाक्री कहाँ लग्यौं, तर निको भएन ।”
केही समयपछि उनको स्वास्थ्यमा केही सुधार भयो, तर उनी उठ्न वा बस्न सक्दैन थिइन् । सुर्जकलाका अनुसार– “बालिका ताराले छ वर्षको उमेर भइसक्दा पनि हिड्न सकिनन् । आर्थिक अवस्था कमजोर भएका कारण उनको परिवारले ताराको उपचार गर्न सकेन ।”
उनीहरू दैलेखबाट कैलाली झरेको तीन वर्ष भयो । “कैलाली आएको पहिलो वर्ष बाहुनपरमा भाडाको घरमा बस्यौ” उनले भनिन्– “यहाँ आएपछि उनी (तारा) हिडडुल गर्न सक्ने भइन् । तर, सधैं भाग्न थालेपछि जाली लगाएर कोठामा थुनेर राख्न थाल्यौं । सुर्जकलाले दुई वर्षअघि बाहुनपुरमै दुई कट्ठा जमिन किनेर आफ्नो घर बनाएकी छन् ।”
दिउँसो काममा जानुपर्ने र घरमा कोही नहुने भएकाले तारालाई बाँधेर बाख्राको खोरमा राख्ने र राति घरमा राख्ने गरिएको छ । “बोल्न पनि सक्दिन, खाना खान पनि जान्दिन, थालको खाना भुइमा घोप्ट्याएर खान्छे” सुर्जकला भन्छिन्– “दिनभरी नबाध्ने हो भने दुवै हात पछाडि राखेर भाग्छे ।” तारा रजस्वला भएका बेला उनलाई पाँच दिनसम्म घरबाहिर एक्लै राख्ने गरेको उनले बताइन् ।
सुर्जकलाका श्रीमानले अर्को विहे गरेपछि घर फर्किएका छैनन् । “कहिलेकाही फोनमा कुराकानी सम्म हुन्छ” उनी भन्छिन्– “मैले एक्लैले घर व्यवहार धान्नुपरेको छ ।” उनका तीन छोरा र दुई छोरी छन् ।
गरिबीका कारण सुर्जकलाले अहिलेसम्म ताराको राम्ररी उपचार गर्न नसकेको बताइन् । आर्थिक अभावका कारण उनका छोराहरूले बीचमै पढाई छोडेर काममा लागेका छन् । उनका छोराहरू टीकाराम र नारायण हाल भारतमा रोजगारी गर्छन् । कान्छो छोरो नवलपरासीको एक संस्कृति स्कूलमा कक्षा सातमा नि:शुल्क रूपमा पढिरहेका छन् भने कान्छी छोरी स्थानीय एक विद्यालयमा अध्ययन गरिरहेकी छन् ।
मानसिक रूपमा अस्वस्थ ताराले दुई वर्षदेखि मासिक दुई हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता स्वरूप पाउने गरेको उनले बताइन् । पाँच वर्षदेखि सामाजिक सुरक्षा भत्ता पाइरहेकी उनले दुई वर्षअघिसम्म मासिक एक हजार रुपैयाँ पाउने गरेको सुर्जकलाले बताइन् । उनलाई दैलेख जिल्लाबाटै सामाजिक भत्ता रकम प्राप्त भइरहेको छ । दैलेखमै रहेकी ताराकी हजुरआमा जौकलाले नातिनीको सामाजिक भत्ता बुझेर पठाउने गरेकी छन् ।
ताराका मामा नवराज पोख्रेलले कैलालीबाटै सुरक्षा भत्ता पाउने व्यवस्था गरिदिए सहज हुने बताए ।
यता, लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नेत्र सुनाखरीमगरले वडापालिका कार्यालयमा ताराका बारेमा अहिलेसम्म कुनै जानकारी नआएको बताए । उनले दैलेखबाट उनले पाइरहेको सामाजिक सुरक्षा भत्ता रकम बारे लिखित जानकारी आएमा यतै (वडापालिका) बाट नै प्राप्त हुने व्यवस्था मिलाइने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार