२९ बैशाख २०८१, शनिबार

टीकापुर घटना : वादी, प्रतिवादीका साक्षी अदालतमा



धनगढी । तीन वर्षअघि भएको टीकापुर घटनाका वादी र प्रतिवादी साक्षीहरू पहिलो पटक आइतबार जिल्ला अदालत कैलालीमा उपस्थिति भएका छन् ।
घटना भएको तीन वर्षपछि साउन ३० गते भएको पहिलो पेसीमा जिल्ला अदालतले वादी र प्रतिवादीलाई साक्षी लिएर आउन दिएको आदेश अनुरूप आइतबार वादी र प्रतिवादी पक्ष साक्षीहरू सहित अदालतमा हाजिर भएका हुन् ।
कैलाली जिल्ला अदालतका अनुसार आइतबार वादीका तर्फका ३५ र प्रतिवादीका तर्फबाट ५० जना साक्षी अदालतमा उपस्थित भएका छन् । जिल्ला अदालतका शाखा अधिकृत नारायणप्रसाद ओझाले वादी र प्रतिवादी पक्षका गरी ८५ जनाले आइतबार अदालतमा हाजिर गरेको जानकारी दिए ।
जिल्ला अदालतमा आइतबार हाजिर नभएका कारण सहित आएमा यसपछि पनि हाजिरी गर्न पाउने अदालतले जनाएको छ । त्यस्तै, साक्षीको बयान लिन आवश्यक ठानेमा हाजिर नभएकालाई पनि अदालतमा बोलाइने बताइएको छ ।
अदालतले आइतबारदेखि साक्षीहरूको बयान लिने कार्य सुरु गरेको छ । आइतबार वादी पक्षका तीन जनाको बयान लिइएको छ । वादी पक्षबाट दीपक न्यौपाने, राधा बोहरा र जंगबहादुर साउँदको बयान रेकर्ड भएको छ ।
बयान लिने कार्य असोज १२ गतेसम्म चल्ने शाखा अधिकृत ओझाल बताए । जिल्ला अदालतका श्रेष्तेदार ईन्द्रबहादुर कठायतले यसपछि दैनिक पाँच जनाको दरले बयान लिने कार्य गरिने र सोहीअनुसार तारेख तोकेर प्रत्येक दिन बयानका लागि पाँच जनालाई बोलाईने बताए ।
श्रेष्तेदार कठायतका अनुसार वादी र प्रतिवादीका साक्षीहरूको बयान लिन कम्तीमा १५ दिन लाग्ने छ । त्यसपछि नियमित पेशी हुने भएकाले चाँडै मुद्दाको फैसला हुनसक्ने श्रेष्तेदार कठायतले सम्भावना व्यक्त गरे ।
थरुहट/थारूवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते भएको हिंसात्मक घटनामा वरिष्ठ प्रहरी उपरीक्षक सहित आठ जना सुरक्षाकर्मी तथा एक डेढ वर्षीय बालकको ज्यान गएको थियो । घटनाको दोस्रो दिन भएको हिंसामा थारू समुदायका दर्जनौ पसल, घर, टहरामा आगजनीका साथै लुटपाट भएको थियो ।
टीकापुर घटनामा संलग्न भएको आरोपमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रेशम चौधरी सहित ५६ जनामाथि मुद्दा चलाइएको छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका मध्ये दुई नाबालकलाई पोखराको सुधार गृहमा राखिएको छ । प्रतिनिधि सभा सदस्य रेशमलाई काठमाडौं कारागारमा राखिएको छ भने अन्य २२ जनालाई पुर्पक्षको लागि कैलाली कारागारमा राखिएको छ ।
उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा मुद्दा चलाइएका अन्य ३२ जना हाल फरार अवस्थामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार