२५ आश्विन २०८१, शुक्रबार

स्थानीय तहले संघसंस्थालाई भने– समन्वय र सहकार्य गर



धनगढी । कैलालीका स्थानीय तहहरूले समन्वय तथा सहकार्य नगर्ने संघ/संस्थाहरूलाई दर्ता नदिने बताएका छन् ।
संघ/संस्थाहरूले आफूखुशी काम गरिरहेको र त्यसले खासै नतिजामुखी प्रतिफल दिन नसकेको जनाउँदै स्थानीय तहले ‘स्थानीय स्तरमा काम गर्ने संघ/संस्थाले स्थानीय तहसँग समन्वय र सहकार्य गरेर मात्र काम गर्नुपर्ने’ बताएका छन् ।
शुक्रबार धनगढीमा मुक्त कमैया महिला विकास मञ्चको आयोजनामा सीमान्तकृत समुदायहरूका लागि सामाजिक र आर्थिक शसक्तिकरण परियोजनाको जिल्ला बैठकमा बोल्ने अधिकांस स्थानीय तहका जनप्रतिनिधिहरूले ‘संघ/संस्था र स्थानीय तहले सँगै मिलेर काम गर्न आवश्यक रहेको’ बताए ।
जिल्ला समन्वय समिति, कैलालीका प्रमुख सूर्यबहादुर थापाले ‘लामो समय संघ/संस्थाले गरिब तथा विपन्न वर्गको जिविकोपार्जन, स्वास्थ्य तथा शिक्षाको पहुँच लगायतका क्षेत्रमा काम गरे पनि नतिजा सन्तोषजनक नदेखिएको’ बताए । उनले जनताको जनस्तरमा सुधार ल्याउन, जिविकोपार्जनमा सहयोग पुर्‍याउन र समाज सुधारलाई नतिजामुखी बनाउन संघ/संस्था र स्थानीय तहले सँगसँगै हिड्न जरुरी रहेको बताए ।
जिसस प्रमुख थापाले संघ/संस्थाले जनतालाई आत्मनिर्भर बनाउन तालिम, क्षमता अभिवृद्धि, सामग्री सहयोग लगायतका क्रियाकलाप गरिरहेको भए पनि अझै जनताको जीवनस्तरमा खासै सुधार हुन नसकेको दावी गरे ।
कार्यक्रममा कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले संघ/संस्थाले जनताको आर्थिक स्तरमा सुधार ल्याउनुभन्दा पनि जनतालाई परनिर्भरता बनाउँदै लगेको आरोप लगाए । उनले जनतालाई आत्मनिर्भर बनाउन अनुदान वितरण भन्दा पनि शिक्षा, स्वास्थ्यको पहुँच बढाउन जरुरी रहेको बताए ।
उनले जनताको जीवनस्तर सुधारका लागि काम गरिरहेका संघ/संस्थाले ठोस योजना सहित गाउँपालिकासँग समन्वय गरेर अगाडि बढ्न चाहेमा पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष लाजुरामले भने– “यदि संघ/संस्थाले आफू खुशी काम गर्छन् भने गाउँपालिकाले कुनै सहयोग गर्ने छैन् ।”
भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरी र गौरीगंगा नगरपालिकाका भीमबहादुर देउवाले “संघ/संस्थामा धेरै बजेट रहेको तर, कनिका छरेझै काम गर्दा समस्या भएको छ ।” नगर प्रमुख देउवाले भने “जनताका आकाक्षा पुरा गर्न ठोस योजनावद्ध ढंगले काम गरेर अघि बढ्न जरुरी छ ।” उनले देश नयाँ संरचनामा गइसकेकाले संघ/संस्था तथा स्थानीय सरकारले पनि काम गर्ने शैलीलाई नयाँ ढंगमा अघि बढ्नुपर्ने बताए । उनले एउटै क्षेत्र र एउटै तरिकाले काम गर्ने संस्थाले संयुक्त मिलेर काम गर्न जरुरी रहेको बताए ।
“अहिले पनि स्थानीय तहमा थुपै्र समस्या रहेका छन्” भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले भने “ती समस्या समाधान गर्न सबै एकजुट भएर अघि बढ्न जरुरी छ ।” उनले अहिले धेरै संघ/संस्थाका कार्यक्रम एकै वडामा लागू भएको देखिएको बताए ।
जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा युसेप नेपालका कार्यक्रम संयोजक सरोज न्यौपानेले परियोजनाको परिचय, बजेट, प्रगति विवरण लगायतका बारेमा जानकारी दिएका थिए ।
मुक्त कमैया महिला विकास मञ्चका ईन्द्र चौधरीले परियोजनाले कैलाली जिल्लामा आर्थिक वर्ष २०७४/७५ मा गरेको कामबारे प्रस्तुतिकरण गरेका थिए । उनका अनुसार कैलालीमा परियोजनाले गत वर्ष सहकारी गठन, सहकारी तथा वित्तिय शिक्षाका लागि तालिम र अभियान, सहकारीलाई विउपुजी तथा सामाग्री सहयोग लगायतका क्रियाकलाप गरेको जानकारी दिए ।
परियोजनाले गत वर्ष ३७ लाख ६९ हजार नौ सय ४० रकम कार्यक्रमतर्फ र २२ लाख ३० हजार रकम व्यवस्थापनतर्फ गरि ५९ लाख ९९ हजार नौ सय ४० रकम खर्च गरेको जनाएको छ ।
मुक्त कमैया महिला विकास मञ्चकी कौशिल्या चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन भीम कैनीले गरेका थिए । कार्यक्रममा धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वड, गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउँद, गौरीगंगा नगरपालिकाका नगर प्रमुख भीम देउवा, भजनी नगरपालिकाका शेरबहादुर चौधरी, कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी लगायतका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
उता, गोदावरी नगरपालिका वडा नम्बर ८ श्रीपुरमा शुक्रबार नै भएको एक कार्यक्रममा नगर प्रमुख हरिसिंह साउँदले सरकारी तथा गैरसरकारी संघसंस्थालाई स्थानीय तहसँग समन्वय सहकार्य गरेर आफ्ना काम कर्तव्य अगाडि बढाउनुपर्ने बताए ।
सिविओ विकास केन्द्रको १२ औं वार्षिक साधारण सभामा नगर प्रमुख साउँदले विभिन्न लक्ष्य तथा उद्देश्यका लागि समाज परिवर्तनका लागि सरकारी तथा गैरसरकारी संघसंस्था स्थानीय तहसँग समन्वय सहकार्य गर्नुपर्ने बताए ।
“यहाँ हजारौं संघसंस्था छन्, जुन विभिन्न लक्ष्य र उद्देश्य दिएर समाज परिवर्तनमा लागेका छन्” नगरप्रमुख साउँदले भने– “तर यहाँ स्थानीय तह नगरपालिका, गाउँपालिकासँग समन्वय सहकार्य नगरेको कारण लक्ष्य प्राप्तीमा चुनौति भएको साथै काम कर्तव्य प्रभावकारी हुन सकेको छैन ।”
कार्यक्रममा वडाध्यक्ष नरेश अधिकारीले सिविओ विकास केन्द्रले आदिवासी जनजाति, दलित, उपेक्षित वर्गका हकअधिकार तथा सचेतीकरणमा बढी परिवर्तन ल्गाएको बताए । उनले आउने दिनमा थप प्रभावकारी योजना बनाई काम गर्ने पर्ने बताए ।
त्यस्तै, संस्थाका टेकबहादुर सारु तथा चौमाला समाज सेवा समितिका सचिव धनीराम चौधरीले संस्थाले समाजमा रहेका गरीब तथा दलित, आदिवासी जनजाति समुदायका लागि सीपविकास, क्षमता विकास तथा व्यवसायिक कार्यक्रम ल्याउने बताए ।
संस्थाका अध्यक्ष राधादेवी ओलीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष चन्की चौधरी गरेकी थिइन् । कार्यक्रममा कोषाध्यक्ष मानबहादुर चौधरी आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको संयोजक ज्ञानु तिवारीले गरेका थिए ।
‘विपन्न वर्गको मानवअधिकार तथा खाद्य सुरक्षाप्रति सचेत गर्नु हाम्रो प्रतिवद्धता’ भन्ने मूल नारा दिएर स्थापित भएको संस्थाले समाजमा विभिन्न काम गरिरह्को छ ।
संस्थाले विभिन्न संस्थासँग साझेदारी गरेर नेपाल विकास कार्यक्रम, संकटासन्न समुदायको दिगो जिविकोपार्जन कार्यक्रम, खाद्य सुरक्षा मार्फत गरिबी न्यूनीकरणमा पहल, दिगो जिविकोपार्जनमे विपन्न समुदायको पहुँच लगायतके कार्यक्रम सञ्चालन गर्दै आइहहेको छ ।
संस्थाले आर्थिक वर्ष २०७४/०७५ मा बाख्रापालन तालिम, सुधारल बंगुरपालन तालिम तथा सहयोग, विउ वृद्धिका लागि गहुँखेती तालिम तथा विऊ सहयोग, तरकारी खेती तालिम, प्लाष्टिक टनेल एवं थोपा सिंचाई, सहकारी क्षमता अभिवृद्धि तालिम र सामग्री सहयोग, सहकारी घुम्ती कोष सहयोग, लैंगिक संवेदनशीलता तथा महिला सशक्तिकरण तालिम लगायत कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार