११ श्रावण २०८१, शुक्रबार

एक घर–दुई विरुवा अभियान : आँपका दश हजार बोट वितरित



धनगढी । धनगढी उपमहानगरपालीकाले एक घर दुई विरुवा अभियान अन्तर्गत बिहीबार १० हजार आँपका बिरुवा वितरण गरेको छ ।
दुई दिनभित्रै थप १० हजार विरुवा वितरण गरिने नगरपालिकाका कृषि महाशाखाका अधिकृत खडक विकले जानकारी दिए । उनले भने– “यो चरणमा वडा नम्बर ८, ९, १०, ११, १४, १५, १६, १७, १८ र १९ मा बोट वितरण गरिएको छ । बाँकी वडामा अर्को चरणमा वितरण गरिने छ ।” उनले यस पटक आँपको विरुवा पाएकाहरूलाई दोस्रो वर्ष लिचीको विरुवा दिइने बताए ।
धनगढीलाई हरियाली नगर बनाउने अभियान अन्तर्गत गत असारबाट नै एक घर दुई फलफूलका विरुवा वितरण गरिदै आएको छ । यो अभियान भएकाले नपाएका घरले पाउँदै जाने धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए ।
उनले भने, “बिरुवा पाउनबाट कुनै घर वञ्चित हुनुहुँदैन भन्ने मान्यता उप–महानगरपालीकाले लिएको छ ।” नगरपालिकाले सहयोगी संस्थाबाट र आफै पनि विरुवा जुटाएर प्रत्येक घरमा नि:शुल्क वितरण गर्न थालेको धनगढी उप–महानगरपालीकाका प्रमुख वडले बताए ।
फलफूलको विरुवा वितरण कार्यक्रम अन्तर्गत प्रत्येक घरले एक लिची र एक आँपको गरी दुई वटा विरुवा पाउने छन् । खुला ठाउँमा वृक्षारोपण गर्दा संरक्षण गर्न समस्या हुन थालेपछि घरघरमा फलफूलका विरुवा वितरण गरिन थालेको नगरप्रमुख वडले बताए ।
अभियान अन्तर्गत चार वर्षभित्र नगरमा एक लाख ६० हजार फलफूलका विरुवा रोपिने उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार