१६ बैशाख २०८१, आईतवार

‘पापीहरूले निर्मलाको शिक्षक बन्ने सपनाको पनि हत्या गरे’




कञ्चनपुर । भरखर नौ कक्षामा पढ्दै गरेकी उनले उच्च शिक्षा आर्जन गरेर योग्य शिक्षक बन्ने सपना पालेकी थिइन् । आर्थिक अवस्था कमजोर भए पनि पढाई तथा अतिरिक्त क्रियाकलापमा अब्बल निर्मला पन्तको त्यो सपना गत साउन १० गते सदाका लागि अन्त्य भयो । पापीहरूले भरखर युवावस्थामा उक्लिन लागेकी निर्मलाको बलात्कार र हत्या मात्रै गरेनन्, उनका आमाबुबाले छोरीको भविष्यका लागि देखेका सपना पनि भताभुंग पारिदिए ।

Nirmala Pant
मृतक निर्मलाकी आमा दुर्गा

१३ वर्षीया निर्मलाकी आमा दूर्गा भन्छिन्– “छोरीले शिक्षक बन्ने सपना देखेकि थिई ।” आइतबार समाचार संकलनका लागि पुगेको अनुमोदनसँग अवरुद्ध गला र आँखामा टलपल आँशु झार्दै उनले मधुरो स्वरमा भनिन्– “घरको आर्थिक अवस्था कमजोर छ । छोरी (निर्मला) ले त विज्ञान विषय पढ्ने रहर गर्थी । घरको आर्थिक अवस्था बुझेकी हुनाले उनले शिक्षक बन्ने सपना पालेकी थिई ।” भन्थी– ‘आमा किन चिन्ता गर्नुहुन्छ, शिक्षक बनेर राम्रैसँग गुजारा गरौला नि ।”
आमा दूर्गाले स्मरण गरिन्– “छोरी (निर्मला) पढाईमा अब्बल त थिई नै घरको कामकाजमा पनि निकै खटिन्थी ।”
उनका तीन छोरीमध्ये निर्मला माइली हुन् । “ऊ सानी भए पनि घरको कामकाजमा निकै सहयोग गर्थी, एक चोटी भनेपछि दोस्रो पटक त्यो कामका लागि सम्झाउनु नै पर्दैनथ्यो” दूर्गाले भनिन्– “घर सरसफाईदेखि भान्साको सबै काम भ्याउथी ।”
छोरीको बलात्कार र हत्या भएपछि उनको परिवार अहिलेसम्म स्तब्ध अवस्थामा छ । आमा दुर्गा भन्छिन्– “अहिले त खाना निल्न पनि गाह्रो हुन्छ ।”
निर्मला चित्रकलामा पनि पोख्त थिइन् । निर्मलाले बनाएको भगवान श्रीकृष्णको फोटो देखाउँदै उनले– “यस्ता थुपै्र चित्र छन् । कति चित्र विद्यालयमा राखिएको छन्, कतिपय साथीहरूले लगेका छन् ।”
निर्मलाकी आमा दुर्गाले घरमै सानो किराना पसल राखेकी छन् । पसलमा चटपट लगायतका सामान राखिएको छ । आर्थिक अवस्था निकै कमजोर भएका कारण आफूले भारतको वनबासाबाट सामान बोक्ने काम गर्ने गरेको उनले बताइने । साउन १० गते दुर्गा निर्मलालाई पसल हेर्नु भनेर वनबासा गएकी थिइन् । “छोरीलाई म नआउँदासम्म कतै नजानु भनेकी थिए” उनले भनिन्– “हतार–हतारमा थोरै सामान ल्याएर बजारमा पुर्‍याएर एक बजेतिर घर पुगे, तर पसलमा न त निर्मला थिई, न त जेठी छोरी । कान्छी छोरी पसलमा बसेकी देखेर दिदी कहाँ गइन् भनेर सोधे । कान्छी छोरीले दिदी रोशनी बमको घर गएको जवाफ दिइन् । तीन बजे म दूध लिन पसल गए र फर्केर आउँदा पनि निर्मला आएकी थिइन । त्यसपछि छिमेकी एक जनालाइ लिएर रोशनीको घर गए ।”
दुर्गाले त्यो दिन स्मरण गरिन््– “मेरो घरबाट करिब डेढ किलोमिटर टाढा रहेको रोशनीको घरमा पुगेपछि निर्मला बारे सोध्दा ‘दुई बजे नै घर गइसकेको’ भन्ने जवाफ पाए । मैले ‘निर्मला त घर पुगेकी छैन । तिमीलाई कतै अरू साथीको घरमा जान्छु भनेकी थिई की ?’ भनेर सोधे । तर, रोशनीले घर गइसकेको बाहेक कुनै जवाफ दिइन् ।

Nirmala Pant
अनुसन्धान टोली पीडित परिवारजनसँग छलफल गर्दै

दुर्गाले रोशनीसँग सोधपुछ गरिरहेकै बेला उसको दिदी (बबिता) आएर मसँग झोकिएर ‘एक पटक आएको छैन भनेपछि सुन्नुहुन्न । तपाईको छोरी कसैको पोइल गई होली’ भन्ने ओठेजवाफ दिएको उनले बताइन् । दुर्गाले आफूले छिमेकीलाई लिएर गएकोले रोशनी दिदीबहिनीले कतै गुण्डा लगाएर घरमा पसी भन्ने आरोप नलगाउन् भनेर उनीहरूको घरभित्र नपसेर फर्केको बताइन् ।
रोशनीको घरबाट फर्केपछि दुर्गाले प्रहरी कार्यालयमा गएर छोरीलाई खोजिदिन आग्रह गरेको बताइन् । “प्रहरीलाई छोरी खोजी दिन आग्रह गरे” उनले भनिन्– “तर प्रहरीले आज हेरौं नफर्के भोलि खोजौला भन्ने जवाफ दिए ।”
साउन ११ गते बिहान स्थानीयले रोशनीको घर र निर्मलाको घरको बीचमा पर्ने सडक छेउको उखुबारीमा शव फेला पारे । घटनास्थल निर्मलाको घरबाट झण्डै एक किलोमिटर दूरीमा रहेको छ । घटनास्थल र सडकको बीचमा ठूलो नाली रहेकाले निर्मलाको आफन्तले उनको अन्यत्र हत्या गरेर शव त्यहाँ फालिएको आशंका गरिरहेका छन् । दोस्रो दिन बिहान उनको शवमा हिलो नदेखिनुले निर्मलालाई कोठाभित्रै बलात्कारपछि हत्या गरी योजनाबद्ध ढंगले उखुबारीमा फालेको आशंका गरिएको हो ।
निर्मलाको बलात्कार हत्या पछि व्यापक विरोध बढ्दै गएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी) र कञ्चनपुर प्रहरीको टोली अनुसन्धानमा खटियो । घटनाको २४ दिनपछि प्रहरीले मानसिक सन्तुलन गुमाएका दिलिपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गर्‍यो । निर्मलाका परिवार तथा आफन्तहरूले रोशनी दिदीबहिनीमाथि पनि छानविन गर्न माग गर्दै दवाव दिए पनि प्रहरीले आलटाल गरेर मानसिक सन्तुलन गुमाएका बिष्टलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेपछि आन्दोलन झन् चर्कियो ।
आन्दोलन चर्किदै गए पछि प्रहरीले चलाएको गोलीबाट १४ वर्षीय शनि खुनाको निधन भएको छ । एक दर्जन बढी घाइते भएका छन् ।

पीडितहरूको माग– दोषीलाई आजीवन काराबास
बालिका निर्मलाका परिवार तथा आफन्तले हत्या तथा बलात्कारमा संलग्न रहेका दोषीलाई आजीवन काराबासको सजायका माग गरेका छन् ।
“हामीले क्षति त भोगिसकेका छौं । राज्यले रकमबाट क्षतिपूर्ति दिएर के हुन्छ र ?” निर्मलाकी आमा दुर्गाले भनिन्, “दोषीको पहिचान गरी आजीवन काराबासको सजाय दिइयोस ।”
सरकारले मृतक निर्मलाको परिवारलाई १० लाख रकम क्षतिपूर्ति दिने घोषणा गरेको छ । निर्मलाका आफन्तहरू दोषीहरू पहिचान गर्न माग गरिरहेका छन् । उनका बुबा यज्ञराज पन्तले भने– “अहिलेसम्म दोषी पत्ता नलाग्दा हामी साह्रै व्याकुल छौं ।”
यज्ञराजले प्रहरीलको शुरु र पछिको कुरामा नै विरोधाभाष रहेको बताए । उनले प्रहरीले अभियुक्तका रूपमा प्रस्तुत गरेको दिलिपलाई आफूले आफ्नो घरको सडकमा कहिले आवतजावत गरेको नदेखेको बताए ।
निर्मलाका परिवारजनले सहचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली पछि दोषी पत्ता लगाउने आशा गरेका छन् ।
आइतबार टोलीले निर्मला पन्तका बुबा यज्ञराज, आमा दुर्गा र छिमेकीसँग घरमै बसेर सोधपुछ गरेपछि उनले टोलीबाट निष्पक्ष छानविन हुने र वास्तविक दोषी पत्ता लाग्ने प्रतिवद्धता व्यक्त गरेको थियो ।
यसैबीच प्रहरीले निर्मला बलात्कार तथा हत्या घटनाको अनुसन्धानमा प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकेर नयाँ कोणबाट घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ ।
यसअघि प्रहरी निरीक्षक (इन्सपेक्टर) एकेन्द्र खड्का अनुसन्धान अधिकृत थिए । गृह मन्त्रालयले जिल्लाका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज बिष्टलाई निलम्बन गरी डिएसपी ज्ञानबहादुर सेठी र इन्सपेक्टर खड्कालाई हटाउने निर्णय गरिसकेको छ । उनीहरू माथि नै थप अनुसन्धान अघि बढाइएको छ ।
डिएसपी ओझा तीन दिनअघि मात्र कञ्चनपुरमा सरुवा भएका हुन् । यसअघि उनी धनगढीस्थित गणमा कार्यरत थिए ।
नयाँ अनुसन्धान टिमले निर्मलाकी साथी रोशनी र उनकी दिदी बबिता बमलाई पक्राउ गरिसकेको छ ।
पक्राउ परेका दुवै जनालाई सोमबार अदालतमा उपस्थित गराइने कञ्चनपुरका एसपी कुबेर कडायतले बताए । उनीहरूमाथि पोलिग्राफ टेस्ट गराउने समेत तयारी भइरहेको छ । विगतमा पनि उनीहरूको कल डिटेल अनुसन्धान भएको बताइए पनि प्रहरीले निष्पक्ष अनुसन्धान नगरेपछि प्रश्न उठेको हो ।
घटनाको विस्तृत अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानबिन समितिले घटनास्थलमा अनुसन्धान गरिरहेको छ । समितिले आइतबार मृतकका परिवारसँग छलफल गरेको छ । प्रारम्भिक छानबिनमा प्रहरीको कमजोरी भेटिएपछि एसपी बिष्टलाई निलम्बन गर्ने निर्णयमा गृह पुगेको हो ।
“एसपी बिष्ट नेतृत्वको टोलीले पन्तको हत्या स्थानीय दिलिपसिंह बिष्टले गरेको भन्दै सोमबार सार्वजनिक गरेका थिए । तर, नक्कली अभियुक्तलाई देखाएर बास्तविक अभियुक्तलाई जोगाउन खोजिएको भन्दै आन्दोलन चर्किएको थियो ।” शुक्रबारको आन्दोलनमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु समेत भएको छ ।
छोरी हराएको भनेर प्रहरीमा उजुरी गर्न जाँदा तत्काल खोजीका लागि सहयोग नगर्नु, सुरुमा रोशनीको घरमा खानतालासी नगर्नु, प्रहरीले भनेअनुसार घटनास्थलको प्रकृति नहुनु र मानसिक बिरामी रहेका अभियुक्तविरुद्ध प्रशस्त प्रमाण नभएकाले प्रहरीमाथि शंका बढेको हो । पछिल्ला घटनाक्रमले प्रहरीले नियतबश घटनाको अनुसन्धान तोडमोड गरेको हुनसक्ने भएकाले एसपीलाई निलम्बन गरी डिएसपी र इन्सपेक्टरलाई हटाइएको हो । अनुसन्धानमा सिआइबीबाट खटिएका प्रहरी टोली पनि काठमाडौं फर्किसकेको छ ।

कर्फयु जारी
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा जारी कर्फ्यू जिल्ला प्रशासन कार्यालयले हटाएको छ ।
प्रशासन कार्यालयले आइतबार अपराह्न सूचना प्रकाशित गरी अहिले ६ बजेदेखि राति १० सम्मलाई कर्फ्यू हटाएको जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीका अनुसार राति १० बजेदेखि ५ बजेसम्म यथावत रहेको छ ।
सोमबार बिहान ५ देखि १२ बजेसम्म पुन: कर्फ्यू हट्ने र दिउँसो १२ बजेदेखि अर्को आदेश नभएसम्म कायम रहने प्रजिअ अधिकारीले जानकारी दिए ।

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार