दुई स्थानमा बलात्कार प्रयास
धनगढी । कैलालीको धनगढी तथा गोदावरी नगरपालिकामा शुक्रबार दुई वटा जवरजस्ती करणी प्रयासका घटना भएका छन् ।
कैलाली गोदावरी नगरपालिकामा १४ वर्षिया र धनगढी उपमहानगरपालिकामा १० वर्षिया बालिकामाथि बलात्कारको प्रयास भएको बताइएको छ ।
बालिकामाथि बलात्कारको प्रयास गर्ने १९ वर्षीय बडै कुरैसीलाई प्रहरीले पक्राउ गरेको छ ।
ती बालिका धनगढीको एक मासु पसलमा मासु किन्न गएका बेला बलात्कारको प्रयास भएको स्थानीयहरूले बताएका छन् । “बालिका कुखुराको खुट्टा र टाउको किन्न गएकी थिइन्” प्रत्यक्षदर्शीले भने– “वडैले फार्म भित्र लगेर बलात्कारको प्रयास गरेको र बालिका कराएपछि बलात्कार हुनबाट जोगिइन् ।”
ती बालिकालाई स्थानीयले अर्धनग्न अवस्थामा उद्दार गरेका थिए । स्थानीयको भिड देखेपछि कुरैसी भागेका थिए । स्थानीयहरूले खोजेर कुरैसीलाई ल्याएपछि हातपात समेत गरेका थिए । उनीमाथि हातपात भएपछि प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालयका ईञ्चार्ज वकिलबहादुर सिंहले भने पैसा फिर्ता नगरेपछि विवाद भएको बताएका छन् । “बालिकाले पाँच सय रुपैयाँ लिएर कुखुराको टाउको र खुट्टा किन्न गएकी थिइन् । पछि उनले बालिकालाई पुरै पैसा फिर्ता नगरी घर पठाएका थिए” इञ्चार्ज सिंहले भने– “अभिभावकले कम पैसा दिएको भनेर बालिकालाई बाँकी रुपैयाँ लिन पठाएका थिए । बालिका त्यहाँ गएपछि स्थानीय र कुरैसीबीच विवाद भएको थियो ।”
उनले पक्राउ परेका कुरैसीलाई जिल्ला प्रहरी कार्यालय पठाएको जानकारी दिए । उनले जाहेरी आएमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइने बताए ।
त्यस्तै, गोदावरी घर भएकी एक १४ वर्षीया बालिका बसमा यात्रा गरिरहेको बेला नाम नखुलेको एक युवकले बस रोकेर उनलाई बसबाट ओरालेर जंगलमा लगेको बताइएको छ ।
जंगलमा लगेर माथि बलात्कार प्रयास गर्दा बालिकासँगै रहेका आठ वर्षीय बालक रुन कराउन थालेपछि युवकले बालकलाई चुप गराउने क्रममा बालिका भागेको र पछि गाउलेले जोगाएको बताइएको छ ।