१२ श्रावण २०८१, शनिबार

होहल्लाका आधारमा टिकाटिप्पणी नगर्न आग्रह



धनगढी । धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले दोस्रो पक्षले गरेको होहल्ला तथा फैलाएको भ्रमका आधारमा टीकाटिप्पणी नगर्न नगरवासीहरूसँग आग्रह गरेकी छन् ।
सामाजिक वातावरण कल्याणकारी संघ समाजले शुक्रबार धनगढीमा आयोजना गरेको ‘समृद्धिका लागि पारदर्शिता र जवाफदेहिता’ कार्यक्रममा नगर उपप्रमुख मिश्रले उपमहानगरपालिकाका निर्णय तथा कामकारवाहीबारे आफैंले सूचना लिने र बुझ्ने प्रयास गर्न पनि आग्रह गरिन् ।
“धनगढी उपमहानगरपालिका निकै पारदर्शी बन्ने प्रयास गरिरहेको छ” नगर उपप्रमुख मिश्रले भनिन्– “सत्यतथ्य सूचना लिनका लागि सूचनाको हकको अभ्यास गर्नुहोस्, वेभसाईटहरू हेर्नुहोस्, सूचना अधिकारीसँग आफै सूचना लिनुहोस् ।” उनले उपमहानगरपालिकाले कर बढाएको विषय मिडियामा आएजस्तो नभएको पनि स्पष्ट गरिन् । उनले भनिन्– “धनगढी उपमहानगरपालिकाले एकीकृत सम्पत्ति कर घटाएको छ । मदिरामा बाहेक अन्य वस्तु र सेवामा पुरानै दर कायम राखिएको छ ।”
उनले उपमहानगरपालिकाका जनप्रतिनिधिहरू जतिबेला र जुनसुकै ठाउँमा पनि जवाफदेहि रहेको बताइन् ।
कार्यक्रममा अधिवक्ता डाक्टर जानकी तुलाधरले विगतको तुलनामा धनगढी उपमहानगरपालिकाले काम कारवाही पारदर्शी र जवाफदेहि बनाउँदै लगेको चर्चा गरिन् ।
अधिवक्ता तुलाधरले भ्रष्टाचारका कारण देशमा सुशासन कायम हुन नसकेको बताइन् । उनले सबैभन्दा बढी सरकार र राजनीतिक दलले कालोबजारी र भ्रष्टाचारीलाई संरक्षण दिने गरेका कारण सुशासन कायम गर्न चुनौति रहेको आरोप लगाइन् ।
कार्यक्रममा मानव अधिकारकर्मी देवी खनालले शुक्रबारदेखि लागू भएको मुलुकी ऐनमा भ्रष्टाचार जस्ता अपराधमा माफी नदिने व्यवस्था गरिएकोले त्यसले भ्रष्टाचार नियन्त्रणमा सहयोग गर्ने र त्यसपछि सुशासन र समृद्धिको दिशामा अघि बढने बताए । कार्यक्रममा धनगढी उपमहानगरपालिका १९ वटै वडा अध्यक्ष, कानुन व्यवसायी, शिक्षक र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार