२७ फाल्गुन २०८१, मंगलवार

थप एक आयल स्टोर सिल



धनगढी । कैलालीमा संयुक्त अनुगमन समितिले थप एक आयल स्टोरमा सिल गरेको छ । अनुगमन समितिले धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा रहेका मध्ये बिहीबार सातवटा आयल स्टोरमा अनुगमन गरेकोमा ज्ञान आयल स्टोर सिल गरिएको जनाइएको छ ।
संयुक्त अनुगमन टोलीले ज्ञान आयल स्टोरले मापदण्ड भन्दा कम परिमाण डिजल बिक्री वितरण गरेको फेला पारेपछि अर्को आदेश नआएसम्म विक्रीवितरण गर्न रोक लगाउँदै सिल गरेको जनाएको छ ।
अनुगमन टोलीले भागेश्वर फिलिंग सेन्टर, पाठक फिलिङ सेन्टर, न्यू विष्णु ईन्टरप्राईजेज, अमर आयल स्टोर र दक्षिणकाली आयल स्टोरमा अनुगमन गर्दा ठिक दुरुस्त रहेको पाइएको जनाएको छ ।
यसअघि अनुगमन समितिले शिवशंकर आयल स्टोरले प्रति १० लिटरमा ५० मिलिलिटर डिजेल, मल्ल आयल स्टोरले पेट्रोलमा प्रति १० लिटरमा ३० मिलिलिटर र हरि आयल स्टोरले पेट्रोलमा प्रति १० लिटरमा ३० मिलिलिटर, डिजल हाल्ने मेसिनमा प्रति १० लिटरमा एक मेसिनमा ३० र अर्कोमा ६० मिलिलिटर कम तौल भएको फेला पारी सिल गरेको थियो ।
अनुगमन टोलीमा कैलाली जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढी, पेट्रोलियम व्यवसायी एसोसियनका प्रतिनिधिको सहभागिता रहेको थियो ।
यस्तै, संयुक्त बजार अनुगमन समितिले बिहीबार विभिन्न पसलका ढक तराजुहरू जफत गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार धनगढी बजारस्थित छ वटा सुनचाँदी पसल, १४ वटा मिठाई तथा किराना पसल, पाँच वटा मासु पसल, ११ वटा फलफूल तथा तरकारी (ठेलागाडा समेत) का पसलहरूमा रहेको ढक तराजुहरूको चेकजाँच गरेको जनाइएको छ । अनुगमन टोलीले ढक तराजु दर्ता नगरी अवैधरूपमा राखिएका जफत तथा रोक्का गरिनुका साथै म्याद नाघी नविकरण नगरी प्रयोग गरेकालाई तुरुन्त नविकरण गर्न लगाइएको उल्लेख छ ।
त्यस्तै, कैलाली जिल्ला प्रशासन कार्यालयले विभिन्न निकायसँग प्रगति समीक्षा गरेको छ । कैलाली प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, भूमिगत जल सिंचाई विकास डिभिजन, हुलाकी राजमार्ग योजना कार्यालय र मोहनापुल अत्तरिया छ लेन सडक आयोजना लगायतका कार्यालयहरूसँग आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रगति समीक्षा गरिएको जनाइएको छ ।
सम्बन्धित कार्यालयका प्रमुखहरूले प्रगति तथा काम गर्दा आइपरेका समस्याबारे प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई जानकारी दिएका थिए । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले कार्यालय प्रमुखहरूलाई तोकिएकै समयमा शुरु गरी कार्य सम्पादनमा प्रभावकारिता ल्याउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार