११ श्रावण २०८१, शुक्रबार

स्थानीय तहहरूले छुट्याए विपद् व्यवस्थापनका लागि बजेट



धनगढी । कैलाली एक बाहेक सबै स्थानीय तहले बाढीपहिरो लगायतका विपद् जोखिम न्यूनीकरण तथा पूर्व तयारीका लागि बजेट विनियोजन गरेका छन् ।
जिल्लाका स्थानीय तहहरूले २० लाखदेखि पौने दुई करोड रुपैयाँसम्म विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गरेको जनाइएको छ ।
कैलालीका १३ स्थानीय तहमध्ये महोन्याल गाउँपालिकाले मात्र अझैं विपद् व्यवस्थापनका लागि बजेट छुट्याइसकेको छैन । महोन्याल गाउँपालिकामा विपद् जोखिम न्युनीकरण तथा पूर्व तयारीका लागि विनियोजन गरिने बजेटबारे छलफल जारी रहेको बताइएको छ ।
जिल्लामा सबैभन्दा बढि बाढीको प्रकोप हुने गरेको भजनी नगरपालिकाले विपद् जोखिम न्युनीकरण तथा पूर्व तयारीका लागि सबैभन्दा बढि बजेट विनियोजन गरेको छ । भजनी नगरपालिकाले विपद् व्यवस्थापन शीर्षकमा चालू आर्थिक वर्ष २०७५/०७६ का लागि एक करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ ।
त्यस्तै, गौरीगंगा नगरपालिकाले विपद् व्यवस्थापनका लागि ७९ लाख ६९ हजार छ सय २० रुपैयाँ विनियोजन गरेको छ । भने टीकापुर नगरपालिकाले ५० लाख रुपैयाँ बढी बजेट छुट्याएको छ । त्यस्तै, घोडाघोडी नगरपालिकाले पनि विपद् जोखिम न्युनीकरण तथा पूर्व तयारीमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यस्तै, धनगढी उपमहानगरपालिकाले विपद् व्यवस्थापनमा चालू आर्थिक वर्ष २०७५/०७६ का लागि ४० लाख रुपैयाँ विनियोजन गरेको जनाइएको छ ।
त्यस्तै, लम्कीचुहा नगरपालिकाले २० लाख रुपैयाँ तथा गोदावरी नगरपालिकाले २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै, जोशीपुर गाउँपालिकाले २५ लाख २० हजार दुई सय ५०, बर्दगोरिया गाउँपालिकाले ३० लाख, कैलारी गाउँपालिकाले २५ लाख, जानकी गाउँपालिकाले पाँच लाख र चुरे गाउँपालिकाले विपद् न्युनीकरण तथा विपद् पूर्व तयारीमा चार लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएका छन् ।
घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले विपद् व्यवस्थापनका लागि विनियोजित बजेटबाट वर्षायाम आउने बाढी तथा पहिरो, डुवान र कटान लगायतका समस्याबाट पीडित तथा प्रभावितलाई तत्काल उद्दार र राहत प्रदान गर्न सहज हुने बताए ।
उनले नगर स्तरीय विपद व्यवस्थापन समिति गठन गरिसकेको र नगरपालिकाका सबै १२ वटा वडामा वडा अध्यक्षको संयोजकत्वमा वडा स्तरीय विपद् व्यवस्थापन समिति गठन गर्ने प्रक्रिया जारी रहेको बताए ।
त्यस्तै, भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरीले विपद् व्यवस्थापनका लागि छुट्याएको बजेटबाट प्लास्टिकको डुंगा, लाईफ जाकेट जस्ता उद्धार गर्न सजिलो हुने सरसमान खरिद गरिरहेको बताए । उनले गत वर्ष बाढी र ढुवानले नगरपालिकाका धेरै ठाउँमा निकै क्षति पुर्‍याउनका साथै ठूलो संख्यामा मानिस प्रभावित/पीडित भएकाले विपद् न्युनीकरण तथा व्यवस्थापनका लागि यस वर्ष ठूलो रकम विनियोजन गरिएको बताए ।
जिल्लाका पहाडी गाउँपालिका चुरेका अध्यक्ष धनबहादुर रोक्कामगरले विपद् पूर्वतयारीका लागि आवश्यकता अनुसारका सामान खरिद गरी ल्याउने काम भइरहेको बताए । उनले वर्षायाममा बाढी तथा पहिरोबाट सडक यातायात अवरुद्ध हुन नदिन गाउँपालिकाले स्काभेटर तयारी अवस्थामा राखेको बताए । उनले गाउँपालिकाले टेन्ट, खाद्यान्न लगायतका आवश्यकताका सामानहरू ल्याउने तयारी गरिरहेको बताए ।

उच्च सर्तकर्ता अपनाउन आग्रह
यसैबीच, कैलाली जिल्ला प्रशासन कार्यालयले जिल्लाका पहाडी क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले शनिबारदेखि तीन दिनसम्म कैलालीसहित पश्चिम नेपालमा हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान गरेकाले चुरे तथा पहाडी क्षेत्रमा वर्षा भएका बेला पहिरोको जोखिम बृद्धि हुने भएकाले त्यहाँका बासिन्दाहरूलाई उच्च सर्तकता रहन आग्रह गरेको हो ।
शुक्रबार रातिदेखि परेको वर्षाका कारण कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ लिंलाडीमा पहिरो जाँदा राति केही घण्टासम्म बाटो अवरुद्ध भएको थियो । पहिरो गएको स्थानमा डोजर लगाएर पहिरो हटाई यातायात सञ्चालनमा ल्याइएको थियो । शुक्रबार रातिदेखि परेको लगातारको वर्षाका कारण चुरेका भित्री सडकहरूमा पहिरोले यातायात सञ्चालनमा कठिनाई भइरहेको स्थानीयहरूले जनाएका छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले राजमार्ग क्षेत्रमा यातायात सञ्चालनमा अवरोध नहोस् भनेर सुरक्षा निकायलाई सतर्कताका साथ तयारी अवस्थामा राखिएको बताए ।
उनका अनुसार वर्षाका कारण हुन सक्ने बाढीपहिरोको जोखिमको सम्भानालाई ध्यानमा राखेर प्रशासनले पुर्वतयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जिल्लाका सबै स्थानीय तहलाई पनि सोही अनुसार पुर्व तयारी गर्न आग्रह गरिएको बताए ।
मौसम पुर्वानुमान महाशाखाले आज (आइतबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै, मुलुकका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । शनिबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना साथै देशको केही स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको उल्लेख गरेको छ ।
भोलि (सोमबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही देशको केही स्थानहरू हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना साथै एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको पोर्टलमा उल्लेख छ ।
बाढी पूर्वानुमान शाखाले चुरे तथा पहाडी जिल्लामा साना नदीका कारण पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

सुरक्षा र विपद्बारे छलफल
उता, जिल्ला सुरक्षा समन्वय समिति कैलालीले चुरे गाउँपालिकाका स्थानीयसँग सुरक्षा तथा विपद् व्यवस्थापनबारे छलफल गरेको छ ।
कैलाली जिल्लाको दुर्गम क्षेत्र मानिएको चुरे गाउँपालिकामा जिल्ला सुरक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ नेतृत्वको टोलीले बाढीपहिरोको जोखिमको अवस्था, विपद् न्यूनीकरणका लागि गरिएको पूर्व तयारी लगायतका विषयमा छलफल गरेको जनाइएको छ ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी श्रेष्ठले चुरे क्षेत्रमा बाढीपहिरो सहितको विपद्को जोखिम तथा विपद् आएका वेला हुनसक्ने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउन पहल गरिने बताए । उनले प्रशासन कार्यालयले दुर्गम क्षेत्रमा एकिकृत सेवा कार्यक्रम सञ्चालन गरिने बताए ।
प्रजिअ श्रेष्ठले चुरे क्षेत्र भएर नै प्रदेशका नौवटै जिल्लामा सडक यातायात जोडिएकाले बाढी तथा पहिरोबाट यातायात अवरुद्ध हुन नदिन स्थानीय तहले पूर्व तयारी गर्न आग्रह गरे । ‘अहिले बाढी तथा पहिरोको जोखिम बढ्दै गएको छ’ उनले भने– राजमार्ग क्षेत्रमा पहिरोले बाटो अवरुद्ध गर्न सक्छ । स्थानीय तहले सुरक्षा निकायसँग सहकार्य गरेर आम नागरिकलाई सहज र सुरक्षित बनाउन पहल गर्नुपर्छ । उनले विपद्का समयमा सञ्चार क्षेत्रलाईलाई बलियो बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले पछिल्लो समय कैलालीका विभिन्न स्थानमा अवांछित, अपराधिक क्रियाकलाप बढ्दै गएको चर्चा गरे । प्रहरी उपरीक्षक घिमिरेले अहिले स्थानीय तहमा अर्ध न्यायिक समिति भएकाले जघन्य अपराधका घटनालाई मिलापत्रमा टुंग्याउने मानसिकता हटाउन आग्रह गरे । उनले कैलालीमा ३८ वटा प्रहरी युनिट र आठ सय ६६ जना दरबन्दी रहेकाले जनताका माग अनुसार सबै ठाउँमा सुरक्षा टोली खटाउन कठिनाई हुने गरेको बताए ।
छलफल कार्यक्रममा चुरे गाउँपालिकाका स्थानीयले खानीडाँडामा रहेको अस्थायी प्रहरी पोष्टलाई स्थायी गराउन, निगालीको शिवनगर र खैरालाको खैरालामा प्रहरी पोष्ट स्थापना गर्न माग गरेका थिए ।
वडा अध्यक्ष हुकुम बोहराले सचिव नहुँदा कामकाजमा समस्या भइरहेको बताए । ‘हामीले जिल्ला समन्वय समिति र प्रदेश सरकारलाई कर्मचारी व्यवस्थापन गर्न आग्रह गरेका थियौ’ उनले भने– अहिलेसम्म सुनुवाई भएको छैन ।
स्थानीय धर्ना विष्टले सार्वजनिक स्थल नजिकै खुलेआम मदिरा तथा सूर्तीजन्य पदार्थ विक्रीवितरण भइरहेको गुनासो गरिन् । उनले मदिराले समाजमा महिलाले हिँसा भोग्नुपरिरहेको, बालबालिकाहरू पनि कुलत बाटो तर्फ लागिरहेको बताइन् ।
चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्का मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सदस्य हिक्मत भाटले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार