कमलरी हत्या भएको भन्दै विरोध प्रदर्शन



धनगढी । बर्दिया बासगढी, अस्नेरीका ११ वर्षीया अस्मिता थारूको हत्या भएको भन्दै बुधबार कैलाली, बाँके, बर्दिया, दाङ र कञ्चनपुरमा विरोध प्रदर्शन गरिएको छ ।
बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ४, अस्नेरीकी ११ वर्षीया अस्मिताको गत जेठ २९ गते निधन भएको थियो । अस्मिताले आत्महत्या गरेको बताइए पनि उनको हत्या भएको मुक्त कमलरी विकास मञ्चले दावी गर्दै आएको छ ।
बर्दियाकै बढैयाताल गाउँपालिका वडा नम्बर ७ का दुर्गा भण्डारीको घरमा काम गर्दै आएकी अस्मिताको हत्या भएको मञ्चको विज्ञप्तिमा उल्लेख छ । ‘पटक–पटक आफ्नो घर आउँदा मालिकले आफूलाई दिने यातना दिने, दुव्र्यवहार गर्ने बताउने गरेकी अस्मिताको हत्या गरिएको र पछि झुण्ड्याएर आत्महत्या गरेको देखाइएको घटनाक्रमले देखाएको छ’ विज्ञप्तिमा भनिएको छ ।
घटनाको उजुरी दर्ता गरिए पनि हालसम्म कुनै कारवाही अघि नबढाइएको मञ्च कैलालीकी अध्यक्ष विष्णा चौधरीले बताइन् । मञ्चले कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङमा प्रदर्शन गर्नुको साथै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्