३ जेष्ठ २०८१, बिहीबार

प्रदेश संसद बैठक : सांसदहरूको माग– गौरीफन्टा नाकालाई निरन्तरता देऊ



धनगढी । प्रदेश नम्बर ७ का सांसदहरूले धनगढीसँग जोडिएको भारतीय सीमानाका गौरीफन्टालाई निरन्तरता दिनुका साथै अन्तर्राष्ट्रिय स्तरको बनाउन माग गरेका छन् ।
प्रदेश सभाको बिहीबारको बैठकको सून्य समयमा बोल्ने अधिकांस सांसदले गौरीफन्टा सीमानाकाको प्रयोग बन्द हुने समाचारप्रति पनि सरकारको ध्यानाकर्षण गरे । केही दिनअघि कैलाली र कञ्चनपुरको भ्रमणका क्रममा नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरीले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँगको भेटमा गौरीफन्टा सीमानाको स्तरोन्नती हुननसक्ने बताएको भन्ने समाचार सार्वजनिक भएको थियो ।
सून्य समयमा बोल्ने १५ जना प्रदेश सांसदमध्ये अधिकांसले गौरीफन्टा सीमानाकालाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । सांसदहरूले सो नाकालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा स्तरोन्नती समेत गर्न माग गरे ।
सून्य समयमा बोल्दै सत्तापक्ष दल नेकपा (एमाले) का सांसद पूर्णा जोशीले गौरीफन्टा नाकालाई निरन्तरता दिँदै अझ व्यवस्थित गर्नुपर्ने माग गरिन । उनले नेपाली सीमासँग जोडिएको भारतको दुधवा नेशनल पार्क अथवा अरू कुनै बहाना बनाएर गौरीफन्टा सीमानाका बन्द गर्न नहुने बताइन् ।
सून्य समयमा प्रदेश संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद भरतबहादुर खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा गौरीफन्टा सीमानाका दुईपक्षीय छलफलको विषय बन्नुपर्ने बताए । उनले भने– ‘विगतमा पनि सबै प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा गौरीफन्टा सीमानाका दुईपक्षीय छलफलको विषय बन्दै आयो । त्यसैले अहिले पनि यो विषयले प्राथमिकता पाउनु पर्दछ ।’
उनले गौरीफन्टा सीमानाकाको सम्बन्ध प्रदेश नम्बर ७ का ८० प्रतिशत बढी जनताको जीविकोपार्जनसँग जोडिएकाले अन्तर्राष्ट्रिय स्तरको सीमानाकाका रूपमा व्यवस्थित गर्नुपर्ने बताए ।
प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीका सांसद मालामति रानाले गौरीफन्टा सीमानाका बन्द भएमा मोहना–अत्तरिया ६ लेन सडकको औचित्य नै कमजोर हुने चर्चा गरिन् । उनले भनिन्– ‘त्यसैले यो सीमानाकाको निरन्तरता मात्रै होइन स्तरोन्नती समेत गर्नुपर्दछ ।’
नेपाली काँग्रेसका सांसद रणबहादुर रावलले गौरीफन्टा सीमानाकाको निरन्तरता दिनुका साथै खक्रौला, गड्डाचौकी, झुलाघाट, दार्चुला र चीनसँग जोडिएको ताक्लाकोट नाका व्यवस्थित बनाउन सरकारले ध्यान दिनुपर्ने बताए ।
सांसद रावलले प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा अतिक्रमण तथा सीमा व्यवस्थित गर्ने विषयलाई प्राथमिकता दिन माग गरे । उनले भने– ‘जताततै सीमा अतिक्रमण भएको छ । विगतमा सीमा अतिक्रमणबारे सडक आन्दोलन भएका छन् । अहिले बामपन्थीहरूको दुई तिहाई बहुमतको सरकार बनेको बेला यो समस्या दिगो रूपमा समाधान गर्नु पर्दछ ।
नेकपा माओवादी केन्द्रका सांसद वीरमान चौधरीले गौरीफन्टा सहितका कैलालीका छोटी भन्सारमा हुने गरेको राजश्व चुहावटलाई नियन्त्रणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
गौरीफन्टा नाकाको अझ सुधार हुनु पर्ने बताएकी एमाले सांसद सुशीला बुढाथोकीले निर्माणाधीन हुलाकी सडक साँघुरो भएकोले दुर्घटना बढेको बताइन् ।
बिहीबारको संसद बैठकको सून्य समयमा सांसदहरूले शिक्षक सेवा आयोगको परीक्षा स्थगित गरिएको, यातायात कार्यालयका शाखा विस्तार, प्रदेश सरकारको अधिकार बृद्धि लगायतका विषयमा समेत धारणा व्यक्त गरे ।
एमाले सांसद लीलाधर भट्टले प्रदेश सरकारलाई कर्मचारीको सरुवा, बढुवाको अधिकार प्रदान गर्न माग गरे ।
सांसद भट्टले प्रधानमन्त्रीको भारत भ्रमणमा बैतडीको झुलाघाटमा पक्कीपुल र पञ्चेश्वरमा झोलुंंगे पुल निर्माणलाई छलफलको विषय बनाउनुपर्ने बताए ।
एमाले सांसद बलबहादर सोडारीले सात नम्बर प्रदेश सरकारको काम सुस्त भएको चर्चा गरे ।
एमालेकै सांसद प्रकाशबहादुर रावलले महाकाली सन्धी अनुसार सुख्खायाममा महाकाली नदीबाट नेपालले पानी नदिएकोमा आपत्ति जनाए ।
अर्का एमाले सांसद लालबहादुर खड्काले भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा नेपालीलाई दु:ख दिने अपमान गर्ने क्रम कम नभएकोमा सरकारले गम्भीरतापूर्वक पहल गर्नुपर्ने माग गरे ।
बाजुराका एमाले सांसद बलदेव रेग्मीले बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने, धनगढीदेखि कोल्टी हवाई सेवा सञ्चालन गर्न माग गरे ।
माओवादी केन्द्र सांसद प्रेमप्रकाश भट्टले बैतडीका ४८ वडामा अझैं वडा सचिवको पदपूर्ति नभएकोप्रति सरकारको ध्यानाकर्षण गरे ।
माओवादी केन्द्रका सांसद महेशदत्त जोशीले चन्दा लगायतका बहानामा कञ्चनपुरका थुपै्र विकास आयोजनाको निर्माणमा अवरोध भइरहेको बताए ।
माओवादी केन्द्रका अर्का सांसद मानबहादुर सुनारले कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउन अघि जनताको जग्गाको मुआब्जा दिनुपर्ने बताए ।

चैत २३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार