१२ श्रावण २०८१, शनिबार

डीपीएल–२ : विराटनगर र काठमाडौं विजयी



धनगढी । रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ मा विराटनगरले पहिलो जीत हात पारेको छ । बुधबार भएको खेलमा रुपेन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गर्दै विराटनगरले पहिलो जीत हात पारेको हो ।
विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको रुपेन्देहीले निर्धारित ओभरमा ७ विकेट गुमाइ १ सय ३९ रनमा सीमित भयो । उसका प्रदीप ऐरीले ५० बलमा ५४ रनको अर्धशतकीय पारी खेलेपनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । उनले ६ चौका र २ छक्का प्रहार गरे । विराटनगरका शुभम कामतले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङमा उत्रेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन जोडेको थियो । उसका बाबर हायातले ३५ बलको सामना गर्दै ५८ रनको अर्धशतकीय पारी खेले । उनले ४ चौका र ४ छक्का प्रहार गरे । खेलको म्यान अफ द म्याच बाबर हायातले नगद १० हजार हात पारे ।
त्यस्तै, अर्काे खेलमा काठमाडौंले लगातार तेस्रो जीत हात पारेको छ । काठमाडौंले बुधबार भएको खेलमा सिवाइसी अत्तरियालाई ११ रनले पराजित गर्दै तेस्रो जीत हात पारेको हो ।
१ सय ३८ रनको लक्ष्य पछ्याएको सिवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २६ रनमात्रै बनाउन सक्यो । अत्तरियाका गौरव चितकाराले ३६ रन जोडे । २६ बलको सामना गरेका उनले १ चौका र ४ छक्का प्रहार गरेका थिए । यस्तै विपिन चन्द्रा २६ रनमा नटआउट रहे ।
यसअघि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेलेपछि काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । ज्ञानन्दले ४३ बलको सामना गर्दै ५७ रन जोडेका थिए । सो क्रममा उनले ३ छक्का र ४ चौका प्रहार गरे ।
यस्तै, काठमाडौंका नरेश बुढाऐरले २७ रन जोडे । १७ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे । रासिद खानले अन्त्यतिर ९ बलमा १६ रनको पारी खेल्दै टोलीलाई सो स्कोरमा पुर्‍याएका थिए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
अत्तरियाका शिभांकर उराावले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १९ रन खर्चे । यस्तै कृष्ण कार्की र विपिन चन्द्राले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार