१२ श्रावण २०८१, शनिबार

राष्ट्र र जनताको हित सर्वोपरी



(२०७४ फागुन २२ गते बसेको प्रदेश सभा (संसद) बैठकमा प्रमुख प्रतिपक्ष दलका तर्फबाट प्रस्तुत अभिव्यक्तिमा आधारित)

माननीय सभामुख महोदय,

आजको यस ऐतिहासिक घडीमा यस प्रदेशको सुन्दर एवं समृद्ध भविष्य निर्माणको मंगलमय शुभेच्छासहित सबैमा न्यानो जय नेपाल ।
शदिऔं लामो लोकतन्त्रको कठिन संघर्षको शंखनाद गर्दै नयाँ नेपाल निर्माणको अभिभारासहित यस संघीय लोकतान्त्रिक समावेशी गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्न सफल भई देशलाई यस सुखद् चरणमा ल्याइपुर्‍याउन आफ्नो जीवनको बलिदान गर्ने हजारौं ज्ञात अज्ञात सहिद तथा तमाम लोकतन्त्रका सेनानीहरूप्रति श्रद्धासुमन अर्पण गर्दछु ।

सभामुख महोदय,
विक्रम सम्वत् २००७ सालको जनक्रान्तिदेखि विक्रम सम्वत् २०६२/०६३ को दोस्रो जनआन्दोलनसम्मको कुशल एवं सफल नेतृत्व वहन गर्ने र वर्तमान संविधान जारी गर्नुका साथै हालसालै सम्पन्न स्थानीय तहदेखि प्रदेश र संघीय संसदको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष तथा लोकतान्त्रिक मूल्य मान्यतामा कटिवद्ध रही सुसम्पन्न गर्नुका साथै राजनीतिक द्वन्द्व एवं तराई मधेस आन्दोलनको प्रजातान्त्रिक व्यवस्थापन गरी आजको यो क्षण ल्याउन सफल सरकारको नेतृत्व बहन गर्ने हाम्रो राजनीतिक दल नेपाली काँग्रेसका साथै यस दलका सहयात्री राजनीतिक दलहरूप्रति आभार व्यक्त गर्दै यस राजनीतिक परिवर्तनको महान अभियानमा उच्च साहस र राष्ट्रप्रेमले ओतप्रोत हुँदै समर्पण र सहभागिता प्रदान गर्ने नेपाल आमाका आम सन्ततिप्रति नतमस्तक हुन चाहन्छु ।

सभामुख महोदय,
नेपालको कूल भूभागको १३ प्रतिशत ओगेटेको यस ७ नम्बर प्रदेशले हिमाल, पहाड र तराई गरी तीन भौगोलिक क्षेत्र समेटेको छ । भारत एवं चीनजस्ता आर्थिक समृद्धिको तीव्र गतिमा अघि बढिरहेका दुई विशाल छिमेकी मुलुकसँग सीमा जोडिएको यस प्रदेशसँग आर्थिक, सामाजिक समृद्धिका लागि प्रचूर धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदाहरू उपलब्ध छन् । मध्यकालमा अत्यन्त शक्तिशाली र सम्पन्न सिंजा साम्राज्यको मुटुको रूपमा रहेको यो काली, कर्णाली क्षेत्र विगतमा राज्य र सरकारबाट गरिएको काखा र पाखाको व्यवहारले आर्थिक, सामाजिक विकासका दृष्टिले निकै पछाडि धकेलिएको यथार्थ सर्वविदितै छ । तैपनि हामी काली, कर्णाली जस्ता ठूला नदीका मालिक अझैं छौं । सुन्दर अपी, सैपाल, ब्यास आदि हिमचुचुराहरूले हाम्रो पर्यटकीय सम्भावनालाई उच्चता प्रदान गरिरहेका छन् । कैलालीमा रहेको चारकोशे झाडीको अवशेष वसन्ता कोरिडोरदेखि हिमाली क्षेत्रको सदाबहार कोणधारी जंगलले यस प्रदेशको जीवनमा वसन्तका आँकुरा ल्याउने प्रवल सम्भावना जीवितै छ ।
तराईदेखि हिमालसम्मको माटो र हावापानीको विविधताले कृषि क्षेत्रको विविधीकरणलाई आधुनिक रूपमा अगाडि लैजान सकिने अवसर पनि यस प्रदेशलाई प्राप्त छ । पुँजी र प्रविधिको आवश्यक विकास गरी तराईदेखि हिमालसम्म रहेको खनिज सम्पदालाई उपयोगमा ल्याई मुलुककै सबभन्दा बढी गरिबी दर (६४.२%) रहेको बाजुरा जिल्ला र सबभन्दा बढी गरिबहरू भएको (२ लाख ५७ हजारभन्दा बढी) कैलाली तथा मानव विकास सूचकांक समेत अरू सबै प्रदेशभन्दा कम (०.४३५) (जुन नेपालको १५ वर्ष अघिको औसत सूचकांकभन्दा पनि कम हो) यस प्रदेशलाई सम्पन्न बनाउन सक्ने प्रवल सम्भावना समेत रहेको छ ।

सभामुख महोदय,
अब म यो प्रदेशलाई आर्थिक रूपमा समृद्ध बनाउनका लागि केही महत्त्वपूर्ण पक्षलाई तपसिल बमोजिम बुँदागत रूपमा प्रष्ट पार्न चाहन्छु ।
 अबका दिनमा जातीय, जनसांख्यिकी, भौगोलिक सन्तुलन सुदृढ गरी सामाजिक सद्भाव मजबुत बनाउने,
 समावेशी लोकतन्त्र र मानवअधिकारको संरक्षण गर्दै आर्थिक समृद्धिको अभियानलाई मूल अभिभारा लिई आध्यात्मिक सांस्कृतिक वैभवको जगेर्ना गर्ने,
 युवा शक्तिलाई व्यवस्थापन गर्न रोजगारीमूलक कार्यक्रमहरूका साथ अल्पकालीन र दीर्घकालीन सीपमूलक तालिमहरू सञ्चालन गर्ने नीति ल्याउने,
 यस प्रदेशस्थित टीकापुर पार्क, थारू गाउँहरू, घोडाघोडी ताल, डल्फिन क्षेत्र, ढुंगाना गाउँ (टीकापुर), शुक्लाफाँटा वन्यजन्तु आरक्ष, वेदकोट ताल, ब्रम्हदेव, उग्रतारा, घटाल, परशुराम क्षेत्र, शैलेश्वरी, दिलिपेश्वर, खप्तड, वैद्यनाथ, रामारोशन, वरदादेवी, बडीमालिका, छेडेदह, कुण्डा खोला, रामकोट, सुर्मा सरोवर, जगन्नाथ खापर, त्रिपुरा सुन्दरी, निगालासैनी, मालिकार्जुन जस्ता सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धनमा जोड दिँदै आवश्यक पूर्वाधार निर्माण गर्ने,
 खक्रौला नाका, गौरीफन्टा नाका, दोधरा चाँदनी वा गड्डाचौकी नाका र ताक्लाकोट नाकालाई स्तरोन्नति गर्ने,
 राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिंचाई आयोजनाको कामलाई तीव्रता दिइनुपर्ने,
 कर्णाली, अपर कर्णाली, बुढीगंगा पश्चिम सेती जस्ता जलविद्युत आयोजना प्राथमिकता र संकल्पका साथ अगाडि बढाउनुपर्ने,
 सेती वा कैलाश लोकमार्ग, कर्णाली कोरीडोर अन्तर्गत चिसापानीबाट बड्डीचौर सडक, खुडिया, डोटी मार्ग र सात नम्बर प्रदेशका ८८ वटै स्थानीय तहलाई सडक सञ्जालले जोड्ने (उमनपा १, नपा ३३, गापा ५४) North South Connectivity बढाउनुपर्ने,
 Ease of Doing Business (EODB) Uttaranchal-23th, 9th
 यस प्रदेशमा बन्द रहेका हवाई मैदानलाई सञ्चालन गर्ने र प्रमुख धार्मिक स्थलमा राजमार्ग बनाउने,
 यस प्रदेशका विभिन्न स्थानको वातावरणीय अध्ययन गरी कृषि उत्पादनका पकेट क्षेत्रहरू स्थापना गर्ने,
 शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकतालाई सर्वसुलभ बनाउने र माध्यमिक तहदेखि विश्वविद्यालय तहसम्म प्राविधिक शिक्षालाई जोड दिने नीति निर्माण एवं लागू गर्ने,
 आर्थिक, सामाजिक एवं भौगोलिक दृष्टिले पिछडिएका र कमजोर दलित, आदिवासी जनजाति, अल्पसंख्यक जनताका साथै जोष्ठ नागरिक, अपांग र महिला वर्गको विभिन्न निकायमा सहज पहुँच अभिबृद्धिमा प्राथमिकताका साथ जोड दिने कार्यक्रम तर्जुमा गरी लागू गर्ने,
 शदियौंदेखि कूप्रथाका रूपमा रहेको जातीय विवेद, बालविवाह र छाउपडी प्रथाको अन्त्य गरिनुपर्ने,
 बर्सेनि सडेर, जलेर खेर जाने जंगलका काठपातलाई वैज्ञानिक ढंगले उपयोग गर्ने विधिका साथै सरल कानुनी व्यवस्था तर्जुमा गरी गालू गर्ने, ‘वर्षा भन्दा अगाडि’
 समृद्धि र प्रगतिको मूल शत्रुका रूपमा देखिएको भ्रष्टाचारलाई नियन्त्रण गर्न सम्पूर्ण पक्षबाट शून्य सहनशीलताको नीतिप्रति मन, वचन र कर्मले प्रतिवद्धता जाहेर गर्ने ।

सभामुख महोदय,
नयाँ नेपाल निर्माणको महान अभियान शुभारम्भको यस अवसरमा नेपाली काँग्रेसले अघिसारेका अतिवादको प्रतिवाद, रोजगारमूलक बृद्धि, कल्याणकारी राज्य, देश जोड्ने संघीयता, सार्वभौम समानता, संक्रमणकारी न्याय, सामाजिक आर्थिक सद्भावका मुद्दाहरूमा विशेष केन्द्रित रहँदै लोकतान्त्रिक समाजमा हरेक नागरिक आत्मसम्मानका साथ बाँच्न पाउनुपर्दछ ।
जिम्मेवार राज्यले सामथ्र्य र आवश्यकतालाई सन्तुलनमा राख्नुपर्दछ अनि पुनर्वितरण र बीमासहित सामाजिक सुरक्षाका दुई प्रमुख पाटाको छुट्टाछुट्टै नीतिगत सम्बोधन हुनुपर्दछ भन्ने एकीकृत सामाजिक सुरक्षा अवधारणाप्रति प्रतिवद्ध रहँदै यस प्रदेशका हिमालदेखि तराईसम्मका प्रत्येक नागरिकको हक अधिकार एवं पहिचानको संरक्षण र सम्वद्र्धनका लागि समर्पित रहने वाचासहित वर्तमानले हाम्रो पार्टीलाई दिएको जिम्मेवारीलाई लोकतान्त्रिक मूल्य मान्यताप्रति निष्ठावान रही वहन गर्ने र अन्य राजनीतिक दलहरूसँग यस प्रदेशको सर्वांगीण विकासको पवित्र उद्देश्यलाई केन्द्रमा राखी राष्ट्र र जनताको हितलाई हृदयंगम गरी सिर्जनात्मक ढंगले अगाडि बढ्ने विचार अभिव्यक्त गर्दछु ।

अन्त्यमा,
यस सरकारले विश्वासको मत लिन सक्नेछ भन्ने विश्वास एवं शुभकामना व्यक्त गर्दै भावी दिनमा सरकारले गर्ने कामका आधारमा गुण र दोषको आधारमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्दछु ।

 

जय नेपाल
२०७४ फागुन २२ गते

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार