आमरण अनशनप्रति थरुहट संघर्ष समितिको ऐक्यवद्धता
धनगढी । टीकापुर घटनाको आरोपमा कैलाली जिल्ला कारागारमा बन्दी रहेका सांसद रेशमलाल चौधरीसहित २४ जनाले शुरु गरेको आमरण अनसनप्रति थरुहट/थारूवान संघर्ष समितिले ऐक्यवद्धता जनाएको छ ।
संघर्ष समितिले सोमबार विज्ञप्ति जारी गर्दै टीकापुर घटनामा पक्राउ परेकालाई बिना शर्त रिहाई गर्न पनि माग गरेको छ ।
संघर्ष समितिका प्रवक्ता माधव थारूद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘सांसद रेशमलाल चौधरीलाई तत्काल विजयीको प्रमाणपत्र दिने र समयमै सपथ ग्रहणको वातावरण सिर्जना गरियोस् ।’
विज्ञप्तिमा थरुहट संघर्ष समितिले उठान गरेका पहिचान सहितको अधिकार सम्पन्न सीमांकन कायम लगायतका तीन बुँदे माग पनि उल्लेख गरिएको छ ।
अनसनको क्रममा हुन सक्ने प्रतिफलको जिम्मेवारी राज्यले लिनुपर्ने बताउँदै प्रवक्ता थारूले संघर्ष समितिका माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।