सांसद रेशमलालले सपथ लिन पाएनन्
धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचित प्रतिनिधिसभा सदस्य रेशमला चौधरी आइतबार भएको सांसदको पद तथा गोपनीयताको सपथ ग्रहण गर्न पाएनन् ।
संघीय संंसद र राष्ट्रिय सभाका सदस्यहरूले आइतबार सपथ लिए पनि कैलाली कारागारमा पुर्पक्षका लागि थुनामा रहेका कारण सांसद रेशमलालले सपथ ग्रहण कार्यक्रममा सहभागी हुन पाएनन् ।
आइतबार प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्यले केन्द्रीय संसद भवनमा सपथ ग्रहण गरे । जेष्ठ सदस्य महन्त ठाकुरले प्रतिनिधि सभा सदस्यलाई सपथ ग्रहण गराएका थिए ।
त्यस्तै, जेष्ठ सदस्य तारादेवी भट्टले राष्ट्रिय सभा सदस्यहरूलाई सपथ ग्रहण गराएकी थिइन् ।
२०७२ साल भदौ ७ गते भएको टीकापुर घटनाका आरोपी रेशमलालले फरार अवस्थामै कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचन लडेर भारी मतका साथ विजयी भएका थिए ।
टीकापुर घटनापछि फरार रहेका उनले गत १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । अदालतले सोही दिन सुनवाई गर्दै उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
सांसद चौधरीले गत बुधबार आफूलाई अदालतले अभियुक्त प्रमाणित नगरेको र जनप्रतिनिधिको हैसियतमा सपथ ग्रहण कार्यक्रममा उपस्थित हुन आवश्यक व्यवस्था गरी पाउँ भन्दै जिल्ला प्रशासन कार्यालयमार्फत संसद सचिवालयमा निवेदन दर्ता गराएका थिए ।