६ माघ २०८१, आईतवार

पीडितको गुनासो– आयोगले सिन्को भाचेन



धनगढी । दश वर्षे सशस्त्र द्वन्द्वका पीडितहरुले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगले सिन्को समेत नभाचेको आरोप लगाएका छन् ।
दुवै आयोगको तीन वर्षे कार्यकाल त्यत्तिकै वितेको पीडितको आरोप छ । बिहीबार धनगढीमा द्वन्द्वपीडित साझा चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सुमन अधिकारीले भने– ‘कामै नगरी दुईवटै आयोगले तीन वर्षको समय व्यतित गरे ।’
उनले द्वन्द्वपीडितका एउटा पनि उजुरीको छानबिन नभएको बताए । उनले भने– ‘हाम्रा कुराको सुनुवाई होला भनेर आयोग गठनको माग गर्‍यौं, तर आयोगमा राजनीतिक भगबण्डा मात्रै भयो, पीडितका पीडाको कुनै सुनुवाई भएन् । उनले आयोग गठन भएर पीडितलाई हर्ष न बिस्मात भएको सुनाए । ‘तीन वर्षसम्म केही काम नगर्ने आयोगको फेरि म्याद थपेर सरकारले के गर्न खोजेको हो’ अधिकारीले प्रश्न गरे– ‘यो पीडितको आँखामा छारो हाल्ने मात्रै काम हो ।’
त्यस्तै, संस्थाका प्रदेशका संयोजक गणेश मल्लले प्रदेशमा पठाइएका एक हजार उजुरीमध्ये एउटाको पनि छानविन नभएको बताए । उनले भने– ‘विगतमा भएका द्वन्द्वकालीन घटनाको सम्बोधन गर्नका लागि यथासिघ्र ७ नम्बर प्रदेशका पीडित व्यक्तिहरुका उजुरीहरु कानुन बमोजिम छानविन तथा अनुसन्धान प्रक्रिया अगाडि बढाउन समेत अनुरोध गर्दछु ।’
तथ्यांकअनुसार बेपत्ता आयोगमा तीन हजार ९३ उजुरी परेका छन् भने सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६१ हजार छ सय १५ उजुरी म्यादभित्र परेका र १२ सय ६३ म्याद सकिएपछि पनि उजुरी परेका छन् । आयोगले अझै फागुन १ गतेदेखि फागुन मसान्तसम्म उजुरी दर्ता गर्न म्याद थप गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार