३ चैत्र २०८१, सोमबार

भोलिदेखि प्रधानमन्त्री कप महिला क्रिकेट



धनगढी । धनगढीमा भोलि (बुधबार) देखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु हँुदै छ । प्रतियोगिता आगामी १३ गतेसम्म सञ्चालन हुने छ ।
राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्व तथा कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सबै तयारी पुरा भएको मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिताका संयोजक बाबुराजा श्रेष्ठका अनुसार प्रतियोगितामा साविकका पाँचवटै विकास क्षेत्र तथा सशस्त्र प्रहरी बल (एपीएफ) टीम गरी छ वटा टीमको सहभागिता रहने छ ।
महिला राष्ट्रिय कप क्रिकेट विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने उनले बताए ।
त्यस्तै, वुमन अफ द सिरिजलाई १० हजार रुपैयाँ र अन्य चार विधाका उत्कृष्ट खेलाडीलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिता आयोजनाका लागि ३८ लाख ६३ हजार रुपैयाँ खर्च हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार