२ माघ २०८१, बुधबार

मानवाधिकार हनन्मा बृद्धि



धनगढी । ७ नम्बर प्रदेशमा सन २०१७ मा मानवाधिकार हनन्का घटनामा बृद्धि आएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) द्वारा प्रकाशित वर्ष पुस्तक २०१८ मा यस प्रदेशमा सन् २०१७ मा पाँच सय ४५ मानवाधिकार हनन्का घटना भएको उल्लेख छ ।
सन् २०१६ मा प्रदेश नम्बर ७ मा राज्य पक्षबाट ३५ र गैरराज्य पक्षबाट चार सय ५८ मानवाधिकार हनन्का घटना थिए । सन् २०१७ मा राज्य पक्षबाट २१ र गैर राज्यपक्षबाट पाँच सय २४ मानवाधिकार हनन्का घटना भएको वर्ष वर्ष पुस्तकामा उल्लेख छ ।
सोमबार धनगढीमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्टले मानवाधिकार वर्ष पुस्तकको सार्वजनिकीकरण गरे ।
वर्ष पुस्तकामा महिला तथा बालबालिका अझै जोखिममा रहेको देखाएको छ । सो अवधीमा तीन सय ८६ महिला र ४२ बालक पीडित भएका छन् । अघिल्लो वर्ष तीन सय ९३ महिला र ३४ वालबालिका पीडित भएका थिए ।
यस प्रदेशमा सन २०१६ मा एक जनामाथि अमानवीय व्यवहार, २३ जनाको हत्या, १७ जनामाथि सबै प्रकारका जातीय विभेद, तीन जनालाई धम्की, ५१ जनालाई कुटपिट, १९ जनालाई गिरफ्तारी र तीन जना घाइते भएको उल्लेख छ ।
पुस्तकको सार्वजनिकीकरण गर्दै मुख्यमन्त्री भट्टले सामाजिक हिंसा न्यूनीकरण गर्न समाजमा भएका हिंसात्मक घटनाको प्रतिवाद गर्नुपर्ने बताए । ‘समाजमा मदिरा, बेरोजगारी, अशिक्षा, चेतनाको कमी, राजनीतिक अस्थिरतालगायतका कारणले समाजमा हिंसा भइरहेको छ,’ उनले भने– ‘समाजलाई बदल्नु छ भने आफू परिवर्तन हुन जरुरी छ ।’
उनले समाजमा विभिन्न प्रकारले मानवाधिकार उलंघनका घटना भइरहेकोले समाज सुशासनयुक्त, भ्रष्टाचारमुक्त हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश प्रमुख सचिव लक्ष्मीराम पौडेलले अरूको अधिकारका बारेमा गम्भीर नहुँदा मानवाधिकार हनन्का घटनामा बृद्धि आएको बताए । ‘हामी आफ्नो अधिकार खोज्छौं, तर अरूको अधिकारको ख्याल गर्दैनौं’ उनले भने– ‘सम्मानपूर्वक बाँच्ने क्रममा त्यसको अवरोध भयो भने द्वन्द्व सिर्जना हुन्छ ।’
कार्यक्रममा प्रदेश सांसद पूर्णा जोशीले विगतका मानवाधिकार उलंघनका घटनाहरूबाट पाठ सिकेर भविष्यमा हिंसा न्यूनीकरण गर्नुपर्ने बताइन् । उलने समाजमा हिंसा न्यूनीकरण गर्नका लागि राजनीतिक स्थिरता हुनुपर्ने बताउँदै समतामूलक समाजको निर्माण गर्नुपर्ने बताइन् ।
सो अवसरमा प्रदेश नम्बर ७ बाट उत्कृष्ट प्रतिनिधित्व गर्ने दार्चलाका नरेन्द्र कार्कीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
कार्यक्रम संयोजक खड्कराज जोशीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार