३० आश्विन २०८१, बुधबार

संसदीय दलको नेता चयनमा सकस



धनगढी । प्रदेश नम्बर ७ मा रहेका तीन दललाई संसदीय दलको नेता चयन गर्न सकस भएको छ । नेकपा एमाले, नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) मा संसदीय दलको नेताका आकांक्षी धेरै भएपछि टुंगो लाग्न अझैं केही दिन लाग्ने देखिएको छ ।
नेकपा माओवादी केन्द्रको ७ नम्बर प्रदेश कार्यालयले भने संसदीय दलको नेतामा डोटी प्रदेश ‘ख’ बाट निर्वाचित प्रदेश सांसद त्रिलोचन भट्टको नाम सिफारिस गरिसकेको छ । तर, सो दलले पनि अहिलेसम्म दलको नेताको अन्तिम निर्णय गरिसकेको छैन ।
प्रदेश सभामा सबैभन्दा ठूलो दल (२५ जना सांसद) का रूपमा रहेको नेकपा एमालले छिट्टै संसदीय दलको नेताको
टुंगो लगाउने जनाइएको छ । संसदीय दलको नेतामा तीन जना आकांक्षी देखिएपछि प्रदेश सांसदहरूको मतदानबाट टुंगो लगाउने एमाले प्रदेश कमिटीले जनाएको छ । संसदीय दलको नेतामा कैलालीका अध्यक्ष तथा प्रदेश सांसद दीर्घबहादुर सोडारी, डडेल्धुराका पठानसिंह बोहरा र बाजुराका सांसद प्रकाशबहादुर शाहले दावी गरिरहेका छन् ।
यता नेपाली काँग्रेसभित्र पनि संसदीय दलको नेतामा धेरै आकांक्षी देखिएका छन् । प्रदेश सभामा काँग्रेसका १२ जना सांसद रहेका छन् ।
काँग्रेसबाट कैलाली क्षेत्र नम्बर १ (ख) का सांसद डाक्टर रणबहादुर रावल, डडेल्धुराका पार्टी सभापति तथा सांसद कर्णबहादुर मल्ल, डोटीका सांसद भरतबहादुर खड्का र कैलाली क्षेत्र नम्बर ५ (ख) का प्रदेश सांसद डिल्लीराज पन्त तथा समानुपातिक सांसद देवराज पाठक आकांक्षी रहेका छन् ।
नेपाली काँग्रेसले अहिलेसम्म संसदीय दल चयन प्रक्रिया अघि बढाएको छैन । काँग्रेस केन्द्रीय कार्यालयले प्रत्येक प्रदेशमा संसदीय दलको नेता चयनका लागि केन्द्रीय प्रतिनिधि भने खटाइसकेको छ ।
नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह (मनु) का अनुसार आगामी सोमबार संसदीय दलको नेता चयनको प्रक्रिया अघि बढाउने सम्भावना रहेको छ ।
संसदीय दलको नेताका लागि प्रदेश कमिटीबाट नाम सिफारिस गरेपछि माओवादी केन्द्रभित्र विवाद चर्किएको
छ । माओवादी केन्द्रको प्रदेश इञ्चार्ज लेखराज भट्ट र सहसंयोजक लक्ष्मणदत्त जोशीले डोटीका प्रदेश सांसद भट्टलाई संसदीय दलको नेताका लागि सिफारिस गरेपछि पार्टीभित्र विवाद चर्केको छ ।
असन्तुष्ट पक्षले सिफारिस गर्दा पार्टीको प्रदेश कमिटीले एकलौट निर्णय गरेको आरोप लगाउँदै आएको छ । यस क्रममा गत आइतबार प्रदेश नम्बर ७ मा रहेका माओवादी केन्द्रका १४ जना सांसदहरूबाट मतदान भएको बताइन्छ । मतदानमा १२ जना प्रदेश सांसदले भट्टको पक्षमा मत दिएका थिए ।
केन्द्रमा नाम सिफारिस गरेको भए पनि माओवादीमा पनि अझै संसदीय दलको नेताको अन्तिम टुंगो लागेको छैन । कैलालीका प्रदेश सांसद वीरमान चौधरीले संसदीय दलको नेताका लागि प्रदेश कमिटीले गरेको सिफारिस नसच्याइए छुट्टै उम्मेदवार उठाउने घोषणा गरिसकेका छन् ।
त्यस्तै, दुई जना मात्र प्रदेश सांसद भएको राष्ट्रिय जनता पार्टीमा पनि संसदीय दलको नेताको टुंगो लागेको छैन ।
राजपामा समानुपातिक सांसद मालामतिदेवी राना र प्रत्यक्ष निर्वाचित कृष्णबहादुर चौधरी दुवै जना संसदीय दलको नेताका लागि आकांक्षी रहेका छन् ।
प्रदेश सांसद रानाले सम्भवत: आगामी आइतबार अथवा सोमबार संसदीय दलको नेताको टुंगो लाग्ने बताइन् ।
संसदीय दलको नेता चयन नभएसम्म मुख्यमन्त्री चयन तथा मन्त्रीपरिषद् गठन प्रक्रिया अघि बढ्न सक्दैन । संविधानको धारा १६८ को उपधारा १ अनुसार प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रीपरिषदको गठन गर्ने उल्लेख छ ।
संविधानको धारा १६८ को उपधारा २ ले उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने उल्लेख छ ।
उपधारा ४ मा प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ ।

माघ २६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार