२७ मंसिर २०८१, बिहीबार

राष्ट्रिय सभा सदस्य निर्वाचन : मत बदर हुन नदिन अभिमुखीकरण



धनगढी । माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य चुनावमा मत बदर हुन नदिन कैलालीमा बिहीबार मतदाता अभिमुखीकरण कार्यक्रम भएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीले कैलालीका प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरूका लागि मतदाता अभिमुखिकरण कार्यक्रम आयोजना गरेको जनाएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा एक मत बदर हुँदा १८ वा ४८ मतभार बदर हुने भएकाले मतदातालाई मत संकेत गराउने तरिका सिकाइएको क्षेत्रीय निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मोहनराज अर्यालले जानकारी दिए ।
७ नम्बर प्रदेशमा राष्ट्रिय सभा सदस्य चुनावमा प्रदेश सांसद ५३ र स्थानीय तहका एक सय ७६ गरि दुई सय २९ मतदाता रहेका छन् ।
प्रति प्रदेश सांसदको ४८ र स्थानीय तहका जनप्रतिनिधिको १८ का अनुसार मतभार रहेको छ । सो अनुसार प्रदेशमा दुई हजार पाँच सय ४४ र स्थानीय तहमा तीन हजार एक सय ६८ मतभार गरी पाँच हजार सात सय १२ मतभार रहेको छ ।
प्रदेश नम्बर ७ मा खुला तथा महिला तर्फका सदस्य निर्विरोध निर्वाचित भइसकेकाले एकल संक्रमणीय प्रणाली रहेको छैन । दलित तथा अपाङ्गता भएका उम्मेदवार बहुमत प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । दलित र अपाङ्गता भएका दुई सदस्यका लागि चार जनाको उम्मेदवारी रहेको छ ।
दलित तर्फ एमालेका तर्फबाट चक्रबहादुर स्नेही र काँग्रेसका तर्फबाट शेरीराम पार्की उम्मेदवार रहेका छन् । त्यस्तै, अपाङ्गता भएका सदस्यका लागि नेपाली काँग्रेसका छत्रराज जोशी र माओवादी केन्द्रका महेशकुमार महरा उम्मेदवार रहेका छन् ।
७ नम्बर प्रदेशमा खुल्ला तर्फका तीन पुरुष र तीन महिला गरी छ जना निर्विरोध निर्वाचित भइसकेका छन् । तर, निर्वाचित उम्मेदवारलाई निर्वाचन आयोगले २४ गतेपछि मात्रै औपचारिक रूपमा विजयी घोषणा गर्ने कार्यक्रम रहेको छ ।
७ नम्बर प्रदेशमा खुल्लातर्फ निर्वाचन नहुने भएपछि दुई पदका लागि हुने निर्वाचनमा बढी मत ल्याउँने विजयी हुने देखिन्छ ।
मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूका अनुसार सबै मतदाताहरू मतदान गर्न आएमा एक जना उम्मेदवारले एक हजार चार सय २९ मत ल्याएमा जित्ने देखिएको छ ।
७ नम्बर प्रदेशको डोटीमा रहेको पुनरावेदन अदालतमा हुने मतदानमा मतपत्र प्रदेश सांसदका लागि र स्थानीय तहको जनप्रतिनिधिका लागि फरक–फरक रंगको गरी चार प्रकारको मतपत्र रहने छन् । प्रदेशमा एक मतदान स्थल र दुई वटा मतदान केन्द्र कायम गरिएको छ ।
एक मतदान केन्द्रबाट प्रदेश सांसद र अर्को मतदान केन्द्रबाट स्थानीय तहका जनप्रतिनिधिहरूलाई मतदान गर्ने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत पनेरूले बताए । उनले माघ २१ गतेदेखि मौन अवधि लाग्ने र सो समयमा कुनै पनि प्रचारप्रसार गर्न नपाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार