२८ मंसिर २०८२, आईतवार

पहाडमा नै राजधानी उपयुक्त– राज्यमन्त्री चन्द



धनगढी । वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले ७ नम्बर प्रदेशको राजधानी पहाडी जिल्लामा बनाउन उपयुक्त हुने बताएका छन् ।
‘अहिले केही जग्गाधनीहरूले प्रदेश नम्बर ७ को राजधानी अत्तरिया बनाउनुपर्छ भन्दैछन्’ शुक्रबार नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा राज्यमन्त्री चन्दले भने– ‘अत्तरिया वा अन्यत्र राजधानी बनाउनु पर्छ भन्नेको म विरोधी होइन, तर आर्थिक रूपमा विपन्न पहाडको विकासका लागि त्यहीँ नै राजधानी उपयुक्त हुन्छ ।’
‘हिमाली तथा पहाडी जिल्लाका मानिस बसाईसराई गरेर तराईमा झर्ने क्रम जारी छ– राज्यमन्त्री चन्दले भने– ‘यदि तराईमा नै राजधानी बनाउने हो भने पहाडमा मानिस भेटिने छैनन् र तराईको जनसंख्याको चाप नियन्त्रण गर्न सकिने छैन ।’ राज्यमन्त्री चन्दले यो बसाईसराई रोक्न पहाडको विकास अनिवार्य भएको बताए । ‘राजधानी तराई जिल्लामा बनाए फेरि पहाडी जिल्ला विकासका दृष्टिले पछाडि जानेछ’ उनले थपे ।
पत्रकारहरूको एक जिज्ञासामा बैतडीबाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका उनले भने– ‘पार्टी भित्रको अन्तरघात, बाम गठबन्धन, पैसा अभाव लगायतका कारणले हामी पराजित भयौ ।’
उनले अहिलेको पराजयबाट पार्टीले पाठ सिक्नुपर्ने र नेपाली काँग्रेसको पुनर्गठन हुनुपर्ने बताए । ‘पार्टीभित्र धेरै किचिलो छ, यी सबै कुराको अन्त्य गरेर पार्टीलाई बलियो बनाएर अघि लग्नु पर्दछ’ उनले भने ।
एक अर्को प्रश्नमा उनले संवैधानिक व्यवस्था अनुसार पुसको अन्तिम सम्ममा नयाँ सरकार गठन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार